फाइल तस्बिर
काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री अनिलकुमार सिन्हाले प्राकृतिक विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न समयमै प्राप्त हुने मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताए।
विश्व जल तथा मौसम दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले प्राकृतिक प्रकोपबाट हरेक वर्ष नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै प्राप्त हुने पूर्वानुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको बताएका हुन्।
मौसम पूर्वानुमानका लागि देशका विभिन्न स्थानमा स्थापना गरिएको मानव संशाधन सञ्चालितदेखि स्व:चालित मापन केन्द्रहरू तथा राडार, स्याटेलाइट तथा रेडियो सञ्चार जस्ता अत्याधुनिक उपकरण र प्रविधिहरूको व्यवस्थापनलाई पनि निरन्तरता दिन अति आवश्यक रहेको उनले बताए।
मन्त्री सिन्हाले मौसमका कारण देशभर एकैसाथ निर्वाचन हुन सक्छ वा सक्दैन भन्ने आशंकाका बीच मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीका कारण नै हिमाली क्षेत्रलगायत देशैभर एकैसाथ निर्वाचन गर्न समेत सफल भएको धारणा राखे।
विपद् व्यवस्थापन, कृषि, जलस्रोत व्यवस्थापन, ऊर्जा उत्पादन, उड्डयन सुरक्षा तथा भौतिक पूर्वाधार क्षेत्रलगायतका धेरै क्षेत्रहरु मौसम सेवामा प्रत्यक्ष निर्भर रहेकाले जल तथा मौसम सेवाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण आजको अपरिहार्य अवस्था रहेको उनले बताए।
त्यस्तै जल तथा मौसम विज्ञान विभागकी निमित्त महानिर्देशक डा. अर्चना श्रेष्ठले जलवायु परिवर्तनका कारण हुनसक्ने जोखिम र चुनौतीलाई चिर्न मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिइन्। जल तथा मौसम विज्ञानको नीति तयार भइसकेको भन्दै उनले ऐन बनेपछि सेवा सुधारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइएको हो। सन् १९५० मा विश्व मौसम विज्ञान संगठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो।




