काठमाडौँ- नेकपा एमालेका नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति सुरु गरेको लगाएका छन्। शनिबार बिहान पार्टी केन्द्रीय सचिवालय बैठकअघि पत्रकारहरूसँगको कुराकानीमा नेता भट्टराईले सरकारको पछिल्लो कदम पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताएका हुन्।
कार्की आयोगको प्रतिवेदन आफैमा विवादित रहेको पनि बताएका छन्। ‘यो प्रतिवेदनले २३ गतेको घटनालाई मात्रै दोषी ठहर्याएको छ तर २४ गते भएको ठूलो विध्वंशप्रति पुरै बेखबर छ। कसैलाई किटानी ठहर गर्न नसकेको प्रतिवेदनलाई सरकार बन्नासाथ कार्यान्वयनमा लैजानु भनेको सिधै प्रतिशोध साँध्नु हो,’ उनले भने।
उनले आयोगका संयोजक कार्की आफै विवादित रहेको पनि आरोप लगाए। ‘पहिले नै पक्रनुपर्छ, थुन्नुपर्छ भन्दै फैसला सुनाइसक्नुभएको थियो । यस्तो पूर्वाग्रही व्यक्तिको प्रतिवेदनलाई आधार बनाएर अघि बढ्नु भनेको राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन,’ उनले भने।




