काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएपछि पुराना दलका वयोवृद्ध नेतृत्वमाथि दबाब बढेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले कमजोर नतिजा ल्याएपछि थापाले नैतिकताका आधारमा बुधबार राजीनामा दिएका थिए।
उनले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामापत्र बुझाएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए। उनले भने, ‘सभापतिज्यूले चुनावमा पराजित भएपछि नैतिकताको विषयलाई ध्यान दिएर राजीनामा गर्नुभएको छ’, स्नेहीले भने। पुराना पार्टी सभापतिमध्ये सबैभन्दा कम उमेरमा र छोटो समयमै नेतृत्व गरेर थापाले राजीनामा दिएका हुन्।
४९ वर्षीय थापाले माघ २ मा काठमाडौँमा चलेको विशेष महाधिवेशनबाट नेतृत्व लिएका थिए। तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेर चुनावमा जान नसकिने भन्दै थापाले विशेष महाधिवेशन प्रतिनिधिमार्फत जिम्मेवारी लिएर आएका थिए। ‘सुध्रिएको कांग्रेस’, ‘कांग्रेस २।०’, ‘बदलिएको कांग्रेस’ जस्ता नाराहरू दिइए पनि पार्टीले चुनावमा मात्र ३८ सिट जित्न सक्यो। सभापति थापा आफैँ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट पराजित भए।
चुनावमा पराजयपछि कांग्रेसको देउवा निकट नेताहरूले थापामाथि राजीनामाको दबाब दिएका थिए। अन्ततः थापाले राजीनामा दिए। अब थापाको राजीनामा प्रकरण कसरी अघि बढ्छ, हेर्न बाँकी छ। थापाको राजीनामापछि पुराना दलका मुख्य नेता दबाबमा परेको विश्लेषकहरू बताउँछन्।
‘विशेष महाधिवेशन नभएको भए कांग्रेस दोस्रो हुन्थेन। गगनले जोगाए,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘तर नैतिकताका आधारमा राजीनामा दिए। अन्य नेताहरूबाट सम्भव छ जस्तो लाग्दैन।’ निर्वाचनमा एमाले र नेकपाले पनि कमजोर नतिजा ल्याएका छन्। एमाले तेस्रो अवस्थामा खुम्चियो भने नेकपा चौथो बन्यो। एमालेले २५ सिट जित्यो भने नेकपाले १७ सिट ल्यायो।
थापाको राजीनामापछि एमाले र नेकपाका नेताहरू नेतृत्वको बचाउमा लागेका छन्। एमालेका नेता सूर्य थापाले सभापतिबाट थापाले दिएको राजीनामालाई राजनीतिक नाटकको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले राजीनामाको चर्चा ‘बचकनापनको मजाक’ भएको बताएका हुन्।
नेता थापाले राजीनामाको आधिकारिकतामाथि प्रश्न उठाउँदै भनेका छन् ‘राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो पनि भनेको पाइँदैन, राजीनामाको औपचारिकपत्रसमेत गायब छ। अझ यो स्टन्ट, फन्डा र मिलेमतोजस्तो मात्रै देखिन्छ।’ थापा एमालेमा ओली निकट नेता हुन्।
एमालेमा ओली इतर पक्षले ओलीको राजीनामा मागिरहेको छ। तर संस्थापन पक्ष मौन छ। उनीहरू राजीनामा विकल्प नभएको बताइरहेका छन्। ‘राजीनामाले सबैथोक हुन्न। पार्टीभित्र समीक्षा आवश्यक छ’, ओली निकट शेरबहादुर तामाङ भन्छन्, ‘अहिले अध्यक्षज्यू शोकमा हुनुहुन्छ। बिस्तारै संवाद हुन्छ।’
नेकपा नेताहरू पनि अध्यक्षको राजीनामा माग्न थालेका छन्। नेकपाका नेता सरल सहयात्रीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीभित्र गम्भीर आत्मसमीक्षा र वैचारिक पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्।
उनले लोकतन्त्रलाई नयाँ ढंगले अगाडि बढाउनका लागि पार्टीले महाधिवेशनमार्फत देशव्यापी समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘वडादेखि केन्द्रसम्मको संगठनात्मक संरचना, प्रणाली र कार्यविधिमा सुधार आवश्यक छ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण सही ढंगले भएको छ वा छैन भन्ने विषयमा समेत व्यापक बहस हुनुपर्छ। हाम्रो विचार, संगठन र नेतृत्व विकासबारे महाधिवेशनमार्फत गम्भीर समीक्षा गर्नु आजको आवश्यकता हो।’ नेकपा नेताहरू अहिले पनि प्रचण्डकै पक्षमा उभिएका छन्।
थापा माघ २ मा सभापति बनेका हुन्। उनले नैतिकता सम्झिँदै राजीनामा दिए। पुराना दलका मुख्य नेताहरू वर्षौँदेखि नेतृत्वमा छन्। प्रचण्ड ४४ वर्षदेखि र ओली १० वर्षदेखि नेतृत्वमा छन्। पछिल्लो पुस्ता उनीहरूबाट पुस्तान्तरण चाहन्छ। एमालेमा सुरेन्द्र पाण्डे, योगेश भट्टराईसहितका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा छन्।
‘अब नेतृत्व पुस्तान्तरण हुनुपर्छ। अहिलेसम्म भएका काम जे भए धन्यवाद छ। अब नयाँ तरिकाले अघि बढ्नुपर्छ,’ एमाले उपमहासचिव योगेश भट्टराईले भनेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र ओली दुवै पराजित भए। अहिले फेरि एमालेमा नेतृत्वको विषय उठेको छ। नेकपामा समेत स्थिति यही छ। माओवादी हुँदाका समेत मुख्य नेता प्रचण्ड अहिले नेकपामा पनि संयोजक छन्। उनका विषयमा नेकपामा कुरा उठेको छैन।
तर पार्टीको तल्लो पंक्ति नेतृत्वको रूपान्तरण आवश्यक रहेको बताउन थालेको छ। पछिल्ला दिनमा माओवादीसहित धेरै दल एक ठाउँमा ल्याउँदासमेत अपेक्षित मत आउन नसकेको गुनासो छ। ‘प्रचण्डले नेतृत्व पुस्तान्तरण, रूपान्तरण, हस्तान्तरण गर्न धेरै ढिला भइसक्यो।
पुरानो नेतृत्वकै कारण माओवादी आन्दोलन कमजोर बन्यो,’ नेकपाका युवा नेता धनराज वास्तविक भन्छन्, ‘आर्यघाटसम्म कुर्सी लेजाने पद्धतिकै कारण कम्युनिस्ट जनमत घट्दो छ। प्रचण्डले पनि टाउकोमा आइस राखेर सोच्नुपर्छ। अरूको कुरा सुन्दा भन्दा आफैँ मनन गरेर नेतृत्व छाड्नु उचित हुन्छ।’






