स्वस्तिमा खड्का भन्छिन् : ‘लालीबजार’ मा फरक भूमिका गरेकी छु 

हिमाल प्रेस ५ चैत २०८२ १२:१० | Thursday, March 19, 2026
20
SHARES
स्वस्तिमा खड्का भन्छिन् : ‘लालीबजार’ मा फरक भूमिका गरेकी छु 

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’ मा आफूले अहिलेसम्मकै फरक भूमिका गरेको बताएकी छिन्। फिल्मको गीत र टिजरलाई दर्शकले रुचाएसँगै पत्रकारसँगको कुराकानीमा अभिनेत्री खड्काले यस्तो बताएकी हुन्।

‘लालीबजार फिल्ममा मैले अभिनेत्रीका रूपमा सोच्ने सबै काम गर्न पाएकी छु। यो विषयवस्तु मेरो लागि पनि नयाँ र फरक थियो। एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो,’ उनले भनिन्, ‘मैले गरेको भूमिकाका बारेमा हाम्रो अन्य प्रचार सामग्री सार्वजनिकपछि दर्शकले बुझ्नुहुन्छ। मैले हालसम्म गरेको कामभन्दा भिन्न छ।’

उनले फिल्ममा यौन पेसाकर्मी महिलाको भूमिकामा देखिएकी छन्। फिल्मकाे गीत ‘मायालाई के दिऊँ म बैना’ र टिजरले पनि उनकाे भूमिकाबारे थप खुलाएकाे छ।

साथै उनले आफ्नो अभिनय यात्राको एक दशकपछि अडिसनमार्फत ‘लालीबजार’ मा अनुबन्धित भएको समेत बताइन्। उनले भनिन्, ‘अभिनय गर्न थालेको एक दशकको यात्रा पार गरेपछि पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीका रूपमा अनुबन्धित भएँ।’ फिल्म निर्माण गर्ने समूह षट्कोण आर्टसप्रतिको विश्वास र फिल्ममा उठान गरिएको विषयवस्तुका कारण अडिसन दिनुपरेकाे उनले खुलाइन्।

फिल्म आगामी वर्ष २०८३ साल वैशाख १८ देखि प्रदर्शन हुनेछ। अभिनेत्री खड्कासँगै फिल्ममा रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, नवअभिनेता विशाल देवकोटा लगायत कलाकारले अभिनय गरेका छन्।

सामाजिक विषयवस्तुमा आधारित फिल्म यम थापाले निर्देशन गरेका हुन्।

प्रकाशित: ५ चैत २०८२ १२:१० | Thursday, March 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast