काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक परेको बताएका छन्। गएको फागुन २१ मा लज्जास्पद हार व्यहोरेपछि महामन्त्री पाठकले अब धरमर भएर टुपुक्क राष्ट्रिय पार्टीमात्र बन्ने अवस्थाबाट माथि उठाएर राष्ट्रिय राजनीतिको एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारीररूपान्तरणकारी पार्टी बनाउनुपर्ने बताए।
‘त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरावलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ’, महामन्त्री पाठकले लेखेका छन्।
उनले राप्रपाको एजेन्डामा ठुलो समस्या नभएपनि नेताहरूको चिन्तन र कार्यशैलीमा समस्या रहेको दाबी गरेका छन्। ‘सार्वजनिक रूपमा यसरी लेख्दा म माथि तीव्र गालीगलौजसम्म हुन सक्छ, तर त्यसको प्रवाह नगरी मैले यो टिप्पणी लेखेको हुँ’, उनले भनेका छन्, ‘मेरो आग्रह–रहित मिहिन मूल्यांकनमा राप्रपाको एजेन्डामा खास ठुलो समस्या छैन। समस्या हामीहरूको चिन्तन र कार्यशैलीमा छ।’ समस्या पार्टीभित्रका बलशाली प्रवृत्तिहरूमा रहेको भन्दै उनले समस्या आधुनिक युगको राजनीतिक आयामहरूलाई अधिकांशरूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा रहेको बताएका छन्।
‘यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा सुयोग्य र आम मतदातामा प्रभाव पार्न सक्ने उम्मेदवार भेट्न पनि मुस्किल हुनेछ, अपवाद स्थानलाई छोडेर’, पाठकको भनाइ छ। आफूले उठाएका विषयहरू पार्टीको तल्लो स्तरसम्म घनिभूत बहस आरम्भ गर्न पनि महामन्त्री पाठकले माग गरेका छन्।






