काठमाडौँ- युवा पुस्तामा डिजिटल सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रोटरी क्लब अफ महाबौद्धले माध्यमिक तहका विद्यार्थीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रमको पहिलो चरण ललितपुरको धापाखेलस्थित रीजेन्ट आवासीय विद्यालयमा यही चैत ५ गते सम्पन्न भएको थियो। उक्त कार्यक्रममा ५० भन्दा बढी विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा कृत्रिम बुद्धिमत्तासम्बन्धी सत्र इन्जिनियर कृष्ण महर्जनले सहजीकरण गरेका थिए भने साइबर सुरक्षासम्बन्धी सत्र इन्जिनियर श्रीकृष्ण खनालले सञ्चालन गरेका थिए।
सहभागी विद्यार्थीहरूलाई एआईको प्रयोग, यसका अवसर र चुनौतीहरू साथै अनलाइन ठगी, सामाजिक सञ्जाल ह्याकिङ र व्यक्तिगत गोपनीयताजस्ता साइबर जोखिमबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, कार्यक्रमको दोस्रो चरण यही चैत ९ गते अनन्त इंग्लिश स्कूलमा सम्पन्न भएको थियो। उक्त चरणमा ४० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।
कार्यक्रममा पनि एआई तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो।कार्यक्रमलाई इन्जिनियर महर्जन र इन्जिनियर खनालले सहजीकरण गरेका थिए।
कार्यक्रम सफल बनाउन रोटरीयन गोपालप्रसाद घिमिरे, नवराज सञ्जेल तथा मनीषा श्रेष्ठको समन्वय र सहयोग रहेको थियो।
आयोजकका अनुसार आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू थप विद्यालयमा विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ। यस पहलमार्फत विद्यार्थीलाई सुरक्षित र स्मार्ट डिजिटल भविष्यतर्फ अग्रसर गराउने उद्देश्य रहेको जनाइएको छ।





