नेपाली जनतालाई दक्षिण एसियाली नेताहरूको बधाई

हिमाल प्रेस २६ फागुन २०८२ १५:३० | Tuesday, March 10, 2026
20
SHARES
नेपाली जनतालाई दक्षिण एसियाली नेताहरूको बधाई बंगलादेशका प्रधानमन्त्री तारिक रहमान, भुटानका प्रधानमन्त्री छेरिङ तोबगे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इसाक दर।

काठमाडौँ– नेपालमा सफलतापूर्वक संसदीय निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन हुन लागेकोमा छिमेकी मुलुकहरू बंगलादेश, भुटान, भारत र पाकिस्तानका नेताहरूले नेपाली जनता र नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन्।

विभिन्न सामाजिक सञ्जाल पोस्टमार्फत दक्षिण एसियाली नेताहरूले फागुन २१ मा सम्पन्न मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रशंसा गरेका हुन्। यसैगरी उनीहरूले नेपालमा नयाँ सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई शुभकामना दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले बहुमत ल्याएको छ। पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालको सरकार र जनतालाई सफल निर्वाचनको अवसरमा बधाई दिएका छन्।

‘सफल र शान्तिपूर्ण संसद् निर्वाचनको अवसरमा नेपाल सरकार र नेपाली जनतालाई बधाई छ। यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा र सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको मजबुती प्रतिबिम्बित गरेको छ’, रहमानले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।

उनले बंगलादेश नयाँ सरकार र नेपाली जनतासँग नजिकबाट काम गर्न इच्छुक रहेको उल्लेख गरेका छन्। यसबाट दीर्घकालीन मित्रता र सहकार्य अझ सुदृढ गर्न सकिने विश्वास रहमानको छ।

भुटानका प्रधानमन्त्री छेरिङ तोबगेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रबि लामिछाने र पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहलाई निर्वाचनमा प्राप्त ठूलो जितको अवसरमा बधाई दिएका छन्। ‘म सफल निर्वाचनका अवसरमा नेपाली जनतालाई बधाई दिन चाहन्छु। दुई देशबीचको घनिष्ठ मित्रता अझ गहिरो बनाउने अवसरको प्रतीक्षा गर्दछु,’ तोबगेले लेखेका छन्।

पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इसाक दरले नेपाली जनता र नेतृत्वलाई आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिएका छन्। ‘पाकिस्तान नेपालसँगको भाइचारा सम्बन्ध गहिरो रूपमा मूल्यांकन गर्दछ’, उनले लेखेका छन्, ‘म मेरा समकक्षी र नयाँ सरकारसँग नजिकबाट काम गर्ने र हाम्रो दीर्घकालीन मित्रता सुदृढ गर्ने, द्विपक्षीय सहकार्य बढाउने नयाँ अवसर अन्वेषण गर्ने साथै क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धन गर्ने अवसरको प्रतीक्षा गर्दछु।’

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ सभापति लामिछाने र वरिष्ठ नेता बालेनसँग टेलिफोन संवाद गरेका छन्। फोनवार्तामा मोदीले दुवै नेताहरूलाई उनीहरूको विजय र हालैको निर्वाचनमा रास्वपाको सफलता भएकोमा बधाई दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast