काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले बेल्जियमको ईयू टी २० लिग खेल्ने भएका छन्। लिइज रेड लायन्सले सन्दीपलाई टोलिमा भित्र्याएको हो।
उनलाई क्लबले ड्राफ्टअघि नै प्रि–साइन गरेको जनाएको छ। यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन, शोएब मालिकलाई भित्र्याइसकेको छ। सन्दीपलाई “मिस्ट्री स्पिनर” भन्दै स्वागत गरेको छ। नयाँ सिजनमा सन्दीपका गुग्लीहरूले खेललाई नयाँ मोड दिने र टोलीलाई थप बलियो बनाउने क्लबले आशा व्यक्त गरेको छ।
टोलीले उत्साहजनक शैलीमा भनेको छ, ‘यस सिजन हामी नयाँ जाल बुन्दैछौँ। सन्दीपजस्ता मास्टर खेलाडी हाम्रो बलिङ आक्रमणमा आउँदा हामी निकै उत्साहित छौँ।’ इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो।
बेल्जियन क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्ट्स एलएलसीसँगको साझेदारीमा आयोजना हुन लागेको लिग आगामी जुन ६ देखि १४ जुनसम्म चल्नेछ।





