काठमाडौँ- बृहत् पाशुपत पदयात्रा सिन्धुलीको कुशेश्वरधामबाट अगाडि बढेको छ। स्वामी रमणानन्द गिरिको संकल्पमा यात्रा मंगलबार आदिलिंग कुशेश्वरबाट रामेछापतर्फ अघि बढेको हो। चैत १६ गते पशुपति क्षेत्रमा आयोजित भव्य समारोहपछि बागमती नदीको महाआरती गर्दै थालिएको बृहत् पाशुपत पदयात्रामा सयौँ साधुसन्त, विद्वान् र भक्तजन सहभागी छन्।
पदयात्राअन्तर्गत मंगलबार कुशेश्वर लिंगमा वृषभध्वजारोपण गरी यात्रा अघि बढाइएको छ। श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा पशुपतिनाथ एवं बागमतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो।
पदयात्राअन्तर्गत मंगलबार कुशेश्वर लिंगमा वृषभध्वजारोपण गरी यात्रा अघि बढाइएको छ।
कुशेश्वरबाट यात्रा दोलखातर्फ लागेको छ। दोलखास्थति भीमेश्वरको दर्शन गरेर यात्रा सिन्धुपाल्चोक पुग्नेछ। त्यसपछि काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोक क्षेत्रमा रहेका सिद्धलिंगको दर्शन पैदलयात्रा गरी गरिने भएको छ।
पदयात्रामा निस्किएका साधुसन्तलाई स्थानीय भक्तजन, संघसंस्था र नागरिक समाजका तर्फबाट स्वागत सत्कार गरिएको छ। आयोजकका अनुसार पदयात्राका लागि पशुपति क्षेत्र विकास कोषलगायत दर्जनौँ संघसंस्थाले सहयोग गर्ने वचन दिएका छन्।







