गण्डकीका १८ मध्ये १५ सिट रास्वपालाई, कसले कहाँबाट जिते?

विजय नेपाल २६ फागुन २०८२ १९:३५ | Tuesday, March 10, 2026
30
SHARES
गण्डकीका १८ मध्ये १५ सिट रास्वपालाई, कसले कहाँबाट जिते?

पोखरा- गत साता मतदान मिति नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दाबी थियो- गण्डकी प्रदेशमा १० सिटसम्म जित्ने। ३ वर्षअघि जन्मिएको रास्वपाको दाबीलाई ठूला दलका नेता तथा कार्यकर्ताले हावामा उडाउँथे। चार-पाँच सिट त लैजान्छ कि भन्नेमा प्रतिस्पर्धी दलका उम्मेदवार भने सशंकित थिए।

२१ फागुनमा भएको प्रतिनिधि सभा सदस्यको मतदानको प्रत्यक्षतर्फ अन्तिम मतपरिणाम सार्वजनिक भइसक्दा गण्डकीमा रास्वपाले १५ सिट जितेको छ। चुनाव परिचालन कमिटी तथा पार्टी पंक्तिको अनुमानभन्दा बढी सिट आयो। अझ म्याग्दीमा जित हासिल गरेका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई समेत रास्वपाकै समर्थन थियो। हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक गण्डकीका बाँकी सबै जिल्लामा रास्वपाले ‘क्लिन स्विप’ नै गरेको छ।

यो जितमा रास्वपाले नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी, राष्ट्रिय जनमोर्चाका विगतमा भनिएका ‘किल्ला’ गर्ल्याङ्मगुर्लुम हुने गरी भत्काइदियो। गण्डकीका ११ जिल्लामा मनाङ, मुस्ताङ र म्याग्दीबाहेक बाँकीमा रास्वपाले जित हात पारेर बलियो जनादेश आर्जन गरेको छ।

रास्वपा गण्डकी प्रदेश संस्थापक उपसभापति योगराज पौडेल भन्छन्, ‘हामीले सोचेभन्दा बढी नै आयो। १० सिटसम्म जितिन्छ कि भन्ने अनुमान थियो।’ उनले परम्परागत पुराना दलले जनतालाई पटक–पटक ढाँटेकाले यसपालि रास्वपालाई भारी मत दिएर जिताएको आफूहरुको ठम्याइ रहेको बताउँछन्।

पौडेलले भने, ‘अब बन्ने सरकारले सुशासनको प्रत्याभूति हुने गरी जनतालाई सेवा दिनुपर्छ। यो सरकार आएपछि केही फरक अनुभूति पक्कै हुनेछ।’ २०७९ को प्रतिनिधि सभा सदस्य चुनावमा पौडेल कास्की ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार थिए। उनैले पार्टी सदस्यता दिलाएका ३९ वर्षीय राजन गौतमले नवलपुरबाट भारी मतका साथ चुनाव जिते। पौडेलले अब बन्ने सरकारले सरकारी कर्मचारीलाई ‘म के सेवा गर्न सक्छु?’ भनी परिचयपत्र भिर्नुपर्ने कार्यको थालनी गर्नुपर्नेलगायत सुझाव दिइएको बताउँछन्।

रास्वपाले कास्कीका तीनवटै, तनहुँ र गोरखाका दुईवटै तथा स्याङ्जा–१, तनहुँ–१, नवलपुर–१ मा जित हासिल गर्ने दाबी थियो। यसबाहेक स्याङ्जा २, नवलपुर २ र बागलुङमा समेत चुनाव जित्ने आकलन थियो।

हुन पनि चुनावी परिणाममा कास्कीका तीनवटै क्षेत्रमा चुनाव जितेको रास्वपाले गोरखा, तनहुँ, नवलपुर, बागलुङ र स्याङ्जाका दुईवटै क्षेत्रमा जित दर्ता गरेको छ। यस्तै, पर्वत र लमजुङमा पनि जित्यो। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन रास्वपाको समर्थनमा विजयी भए।

२०६४ सालदेखि एमालेको बिरासत रहँदै आएको कास्की २ लाई रास्वपा उम्मेदवारले फराकिलो मतान्तरले जित्दै भत्काइदिए। कास्की २ बाट निर्वाचित उत्तमप्रसाद पौडेलले एमालेका रश्मि आचार्यलाई पनि झण्डै २५ हजार मतान्तरले हराए। गण्डकी प्रदेशमै रास्वपाबाट एकमात्र महिला उम्मेदवार बिना गुरुङ कास्की ३ बाट निर्वाचित भइन्। गुरुङले निकटतम् प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङलाई झण्डै २५ हजार मतान्तरले हराउँदा कास्की १ मा खडकराज पौडेल (गनेश) ले कांग्रेसका तिलकबहादुर रानाभाटलाई २८ हजार ६६९ को फराकिलो मतान्तरले पाखा लगाए। जबकि २०७४ र २०७९ सालको चुनावमा कास्कीका तीनवटै क्षेत्र एमालेले जितेको थियो।

यसैगरी, स्याङ्जा १ मा डा. धनञ्जय रेग्मी, स्याङ्जा २ मा झविलाल डुम्रे निर्वाचित भए। पर्वतमा एमाले–कांग्रेसका उम्मेदवारको कडा टक्करबीच रास्वपाका सागर भुषालले चुनाव जिते।

बागलुङ १ मा सुशील खड्का र बागलुङ २ मा सोम शर्मा विजयी भए। जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङ गोरखा १ मा निर्वाचित भए। उनी झण्डै १५ हजार मतान्तरले चुनाव जिते। गोरखा २ बाट कवीन्द्र बुर्लाकोटी विजयी भए। लमजुङमा धर्मराज केसी विजयी भए।

तनहुँ १ मा रास्वपा उपसभापति डा. स्वर्णीम वाग्ले पुन: निर्वाचित भए। उनी २०८० सालको उपनिर्वाचनमा पनि निर्वाचित भएका थिए। यस्तै, तनहुँ २ मा श्रीराम न्यौपाने विजयी भए। नवलपुर १ मा राजन गौतम र नवलपुर २ मा मनीष खनाल निर्वाचित भए। कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन निर्वाचित भए।

गत २०७९ को चुनावमा गण्डकीमा सबैभन्दा धेरै १० सिट नेपाली कांग्रेसले जितेको थियो। एमाले ५, माओवादी २ र जनमोर्चाले १ सिट जितेका थिए। रामचन्द्र पौडेल राष्ट्रपति चुनिएपछि भएको उपनिर्वाचनमा तनहुँ–१ रास्वपाले जितेको हो।

माओवादीले गोरखा २ (पुष्पकमल दाहाल (प्रचण्ड) र बागलुङ २ (देवेन्द्र पौडेल) जितेको हो। एमालेले कास्कीका तीनवटै सिट, पर्वत र लमजुङमा जित हासिल गरेको थियो। जनमोर्चाले बागलुङ १ जितेकामा बाँकी क्षेत्र कांग्रेसले जितेको थियो। यसपालिको नतिजा उलटफेर भयो। कांग्रेसले हिमालपारिका जिल्लाबाट बिउ जोगाउँदा विगतमा जितेका एमाले, माओवादी केन्द्र (हाल माओवादी, एकीकृत समाजवादीसमेत मिलेर बनेको नेकपा), राष्ट्रिय जनमोर्चा पार्टीले कुनै पनि सिट जित्न सकेनन्।

नवलपुर २ बाट चुनाव जितेका रास्वपाका मनीष खनाल बल्ल २६ वर्षका भए। गण्डकीबाट निर्वाचितमध्ये ७ जना सांसद ४० वर्षमुनिका छन्। जसमा मनीषसहित योगेश गौचन, सुदन गुरुङ, झविलाल डुम्रे, सुशील खड्का, सोम शर्मा र राजन गौतम हुन्।

गण्डकीबाट दलित क्लष्टरका एक जना पनि प्रत्यक्षमा निर्वाचित हुन सकेनन्। आदिवासी जनजातिबाट भने ४ जना सांसद निर्वाचित भए।

चुनावमा गण्डकीका १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्र उम्मेदवारसहित २३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तीमध्ये २९ महिला र २०५ पुरुष हुन्। सबैभन्दा बढी कास्कीमा १८ राजनीतिक दल र सबैभन्दा कम मनाङमा ३ दल प्रतिस्पर्धामा थिए। गण्डकी प्रदेशभर कुल १८ लाख ७० हजार ६५ मतदाता रहेकामा करिब ६० प्रतिशत मत खसेको थियो।

प्रकाशित: २६ फागुन २०८२ १९:३५ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast