मौन बस्नु राजनीतिक आत्महत्या हुन्छ : हरिबोल गजुरेल

हिमाल प्रेस २७ फागुन २०८२ ११:४३ | Wednesday, March 11, 2026
24
SHARES
मौन बस्नु राजनीतिक आत्महत्या हुन्छ : हरिबोल गजुरेल

काठमाडौँ- पूर्वमाओवादी नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीविरुद्ध वैचारिक तथा संगठनात्मक विद्रोह गर्नुपर्ने बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै उनले अन्यायविरुद्ध प्रतिरोध गर्नु बाध्यात्मक बनेको बताएका हुन्।

गजुरेलले राजनीतिक संघर्षमा रणनीति, धैर्य र समयको महत्व हुने बताए। ‘विपक्षीले फायर खोल्दा आफ्नो तयारी अपर्याप्त छ भने पछि हट्नु कमजोरी होइन त्यो परिस्थितिको यथार्थ मूल्यांकन हो,’ भनेका छन्,‘तर यदि पछि हट्ने ठाउँ नै छैन भने प्रतिफायर नगर्नु केवल कायरता मात्र होइन, आत्मसमर्पण नै हुन जान्छ।’

नेतृत्वले गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले गरेको आग्रह आफूले स्वीकार गरेको उल्लेख गर्दै उनले सिन्धुली जिल्ला पार्टीको सम्मान जोगाउन साथ दिएको बताएका छन्। ‘यस निर्णयप्रति मलाई कुनै पश्चाताप छैन। बरु गर्व छ,’ उनले भनेका छन्।

पार्टीभित्र आफूविरुद्ध लगाइएका आरोपप्रति प्रतिक्रिया दिँदै गजुरेलले गोयबल्स शैली, झूटलाई हजार पटक दोहोर्‍‍याएर सत्य बनाउने प्रयास धेरै दिन टिक्दैन, अन्ततः समयले नै सत्यलाई स्थापित गर्छ भन्ने टिप्पणी गरेका छन्।

उनका अनुसार आगामी महाधिवेशनसम्म नेतृत्वलाई रूपान्तरणका लागि समय दिनुपर्ने धारणा आफूले पहिले नै राखेको थिएँ। ‘यदि नेतृत्वमा रूपान्तरण भएन भने महाधिवेशनमा विकल्प अगाडि आउने कुरा मैले त्यतिबेलै स्पष्ट रूपमा राखेको थिएँ,’ उनले उल्लेख गरेका छन्।

संघीय संसद्को टिकट वितरणमा नेतृत्वले अपनाएको अनैतिक, अपारदर्शी र भद्दा तरिकाका कारण परिस्थितिले नयाँ मोड लिएको उनको भनाइ छ। ‘जब ‘कि प्रतिरोध गर, कि मर’ को अवस्था सिर्जना हुन्छ, त्यतिबेला मौन बस्नु अन्यायको मौन समर्थन हुन्छ,’ उनले लेखेका छन्।

गजुरेलले आफूले रोजेको बाटो राजनीतिक सन्यास वा पलायन नभई प्रतिरोध भएको स्पष्ट पारेका छन्। ‘राजनीतिक सन्यास, पलायन र प्रतिरोधबीच रोज्नुपर्ने बेला आयो र मैले प्रतिरोध अर्थात् विद्रोह रोजें,’ उनले भनेका छन्।

प्रकाशित: २७ फागुन २०८२ ११:४३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast