काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकमार्फत संसद् छिर्ने बाटो तत्कालका लागि बन्द भएपछि कलाकार प्रकाश सपुतले अब आफू केबल इन्टरटेनर बन्ने बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले बाल मष्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर बन्न चाहेको बताएका हुन् । ‘म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु । मेरो बाल मष्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन चाहन्छु,’ उनले भनेका छन्, ‘म समाज र राज्यको नजरमा एक समान मान्छे हुन चाहन्छु।’
समानुपातिकमा नअट्ने भएपछि रास्वपा सभापति रवि लामिछानेले आफूलाई फोन गरेर तपाईंले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा मुद्दा भएको बताएका उनले उल्लेख गरेका छन् ।
‘समानुपातिकमा नअट्ने भएपछि सभापति रवि दाइले फोन गरेर भन्नुभयो-प्रकाशजी तपाईं छुट्नु भयो । तपाईं जत्तिको मान्छेले संवैधानिक व्यवस्था बुझ्नुहुन्छ। केही छैन । तपाईंले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा मुद्दा हो । त्यसमा प्राथमिकताका साथ काम हुन्छ,’ रविले फोनमा भनेको कुरा उल्लेख गर्दै उनले भनेका छन् ।
बालेन शाहको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्ने प्रक्रियाको सानो हिस्सा बन्न पाउँदा आफ्नो मनले धन्यवाद दिइरहेको उनले बताएका छन् । ‘देशको समय सुध्रियो भने हामी सबैको समय राम्रो हुन्छ । यसपालि देशको समय राम्रो हुने देखिएको छ । अहिले तपाईंको नेतृत्वमा झण्डै दुईतिहाइसहितको शक्तिशाली पार्टी बनेको छ रास्वपा । बालेनको नेतृत्वमा ५ वर्षको स्थिर सरकार बन्दैछ । यो प्रक्रियाको एउटा सानो हिस्सा बन्न पाउँदा मेरो मनले मलाई धन्यवाद दिइरहेको छ । आगामी कयौं पुस्ताले धन्यवाद दिने गरी काम गर्नुहोला, उनले भनेका छन् ।




