फाइल तस्बिर
काठमाडौँ– शनिबार पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारको तुलनामा शनिबार केही कम वर्षा भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा छिटपुट वर्षाका साथै अन्य प्रदेशका अधिकांश जिल्लामा मध्यमसम्म वर्षा भएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले आज मुलुकका अधिकांश स्थानमा ३० देखि ४५ मिलिमिटरसम्म वर्षा भएको जनाउँदै पूर्वमा सबैभन्दा बढी वर्षा भएको बताए।
काठमाडौँमा पनि आज साँझ हल्का वर्षा भएको उल्लेख गर्दै उनले २५ भन्दा बढी वर्षा मापन केन्द्रमा आज २० मिलिमिटरभन्दा माथि वर्षा मापन गरिएको जानकारी दिए।
विभागका सूचना अधिकारी कायस्थले विस्तारै वर्षा कम हुँदै गएको भन्दै आइतबार भने मौसममा बदली कायम रहने जानकारी दिए। वर्षा भने तुलनात्मक रूपमा कम हुँदै जाने उनको भनाइ छ।
विभागका अनुसार अहिले पनि पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ। विभगाले आज साँझ जारी गरेको मौसम बुलेटिनमा आइतबार देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ।
सोही कारणले देशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए। त्यसपछि विस्तारै वर्षा कम हुँदै जाने छ।
तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए। हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ।




