बुटवल- लगातारको वर्षातपछि पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पूर्व पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवै तर्फको सवारी साधन पूर्ण रूपमा अवरुद्ध भएको हो भने सिद्धबाबाका सडक पनि अवरूद्व छ । बिहानैदेखि परेको वर्षाले सिद्धबाबा एरियामा लेदोसहितको ढुंगा झरेर बाटो अवरुद्ध भएको हो ।
दाउन्नेमा सडक अबरूद्व भएपछि सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राईभर्सन गरीएको छ । तर, पाल्पा बुटवल पनि सडक समेत अवरुद्ध भएपछि यात्रु अलपत्र छन्। वर्षासँगै सडक हिलाम्य भएपछि दाउन्नेमा सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो। घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म दाउन्नेमा सडक सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक पटक अवरुद्ध हुँदै आएको छ।
सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको थियो ।




