रास्वपा सभापति रवि लामिछाने
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अब कास्की जिल्ला अदालतमा नियमित तारेखका लागि धाउनु नपर्ने भएको छ। जिल्ला अदालतले बोलाएको बखतमात्र उपस्थित हुने गरी नियमित तारेख धाउनु नपर्ने सुविधा दिएको हो। जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठले मंगलबार यस्तो आदेश दिएका हुन्।
पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा अदालतमा विचाराधीन छ। गत वर्ष पुसमा उनी ६५ लाख धरौटीमा रिहा भएका थिए।
अदालतका सूचना अधिकारी रामबहादुर किसानले भने, ‘रास्वपा सभापति रवि लामिछानेको सम्बन्धमा उहाँ मुद्दाको तारेखमा रहनुनपर्ने भनी आदेश भएको हो।’ उनका अनुसार अदालतले खोजेको बखत भने उपस्थिति हुनुपर्नेछ।
पछिल्लो समय लामिछाने गत २९ माघमा तारेख बुझ्न अदालत उपस्थित भएका थिए। लामिछानेले तारिखमा बस्नुनपर्ने गरी सुविधा पाउँ भनी निवेदन दिएकोमा अदालतले उनकै पक्षमा यस्तो आदेश दिएको हो।
गत वर्ष लामिछाने ८४ दिनसम्म कास्कीमा हिरासत बसेकोमा धरौटीमा रिहा भएका हुन्। निकै चर्चित रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ६३ जना प्रतिवादी बनाइएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले गत वर्ष पूरक अभियोगसमेत लगेर कुल १ अर्ब ५१ करोड बिगो मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो।




