काठमाडौँ- सांसद तथा निवर्तमान शिक्षामन्त्री महावीर पुन र नेकपा एमाले सचिव तथा सांसद पद्मा अर्यालबीच सामाजिक सञ्जालमार्फत सवालजबाफ भएको छ। दुवै नेताले फेसबुकमार्फत एकअर्कालाई लक्षित गर्दै कटाक्ष गरेका छन्।
पुनले अर्याललाई पुराना नेतृत्वका कमजोरी सबैलाई थाहा भएको उल्लेख गर्दै अहिलेका नेपाली युवा अझ बढी चेतनशील र सक्षम भएको दाबी गरेका छन्।
उनले नयाँ पुस्ताले आम निर्वाचनमार्फत पुराना दलहरूलाई तह लगाइसकेको टिप्पणी गर्दै समानुपातिक कोटाबाट आएका नेताहरूले अहंकार देखाउनु उपयुक्त नहुने बताएका छन्। पुनले सहकार्यको आवश्यकता औंल्याउँदै विवेकपूर्ण तरिकाले अगाडि बढ्नु उत्तम हुने धारणा राखेका छन्।
यसैबीच समानुपातिक सांसद अर्यालले पुनको टिप्पणीप्रति प्रतिक्रिया दिँदै आफू निराश भएको बताएकी छन्। उनले भ्रामक सूचनामा आधारित भएर अनर्गल टिप्पणी गर्नु जिम्मेवार व्यक्तिलाई शोभा नदिने उल्लेख गर्दै सामाजिक सञ्जालमा द्वेष फैलाउने गतिविधि उपयुक्त नहुने बताएकी छन्।
अर्यालले आफूले नबोलेको विषयलाई नियोजित रूपमा प्रस्तुत गरिएको सामग्रीलाई बिनामूल्यांकन प्रचार गर्नु चिन्ताजनक भएको उल्लेख गर्दै भ्रामक गतिविधि अन्त्य गर्न सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरेकी छन्।




