काठमाडौँ- नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले रूख चिह्नमा मतदान गर्न अपिल गरेका छन्। विशेष महाधिवेशनपछि नखुलेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरका मतदातालाई शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गर्न आह्वान गरेका छन्।
खड्काले २७५ सिटका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुबै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनु हुन हृदयदेखिनै हार्दिक बिनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
उनले यसअघि माघ ६ गते नै आफू किन उम्मेदवार नबनेको भन्ने विषय स्पष्ट पारिसकेको उल्लेख गर्दै लेखेका छन्,‘आजको विशेष दिनमा भगवानरूपी मतदातासँग यो निर्वाचनमा सक्रिय सहभागिता जनाई नेपाली कांग्रेसको रुख चिह्नमा मतदान गर्न आग्रह गर्दछु।’ उनले कर्णाली प्रदेशसहित सातै प्रदेशका सबै मतदातालाई मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेका छन्।






