बुटवल– जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगंज क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
शनिबार बिहान मन्दिरमा भजन गाएको विषयमा भएको विवादलाई लिएर दुई समुदायबीच तनाव भएपछि निमित्त प्रमुख जिल्ला अधिकारीले सो क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेका हुन्।
जिल्ला सुरक्षा समितिको निर्णयानुसार शनिबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म जिल्ला कपिलवस्तु महाराजगंज नगरपालिकाका पूर्वतर्फ बर्गदी पुल, पश्चिमतर्फ बहादुरगंज चोक, उत्तरतर्फ महाराजगंज बजार र दक्षिणतर्फ हर्दौनामा निषेधाज्ञा जारी गरिएको छ।
प्रशासनले यी क्षेत्रमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको जानकारी दिएको छ। साथै आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने उल्लेख छ।





