कपिलवस्तुमा फेरि निषेधाज्ञा

हिमाल प्रेस ८ चैत २०८२ १७:०६ | Sunday, March 22, 2026
8
SHARES
कपिलवस्तुमा फेरि निषेधाज्ञा

काठमाडौँ- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको बरगदवा गाउँमा दुई समूहबीच सुरु भएको विवाद उग्र बन्दै जिल्लाका विभिन्न क्षेत्रमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार पुनः निषेधाज्ञा जारी गरेको छ। यसअघि शनिबार पनि सोही विषयलाई लिएर महाराजगञ्ज क्षेत्रमा निषेधाज्ञा लागु गरिएको थियो।

आइतबार तौलिहवा, पकडी, लवनी र डंगरी लगायतका स्थानमा विरोध प्रदर्शन चर्किएपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निषेधाज्ञा थप कडाइका साथ लागु गरेका हुन्।

प्रशासनले पूर्वमा लवनी, पश्चिममा बरगदीघाट पुल, उत्तरमा पचहेरा चोक र दक्षिणमा धर्मभक्त मावि भवनलाई सीमाना तोकी उक्त क्षेत्रमा भेला, सभा, जुलुस तथा प्रदर्शनमा प्रतिबन्ध लगाएको छ।

शनिबार बिहान ईदका अवसरमा नमाज पढिरहेको समयमा नजिकैको काली मन्दिरबाट ठूलो ध्वनि बजाइएपछि विवाद सुरु भई उग्र बनेको बताइएको छ।

घटनापछि आइतबार सदरमुकाम तौलिहवा, बहादुरगञ्ज, पकडी र लवनी लगायतका बजार बन्द भएका छन् भने सार्वजनिक यातायात पनि ठप्प बनेको छ।

यसैबीच, घटनाका कारण कपिलवस्तु नगरपालिकाले सञ्चालन गरिरहेको विद्यालयको वार्षिक परीक्षा स्थगित गरिएको छ। झडपमा दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

विवाद समाधानका लागि बसेको सर्वपक्षीय बैठकले साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गर्दै ६ बुँदे निर्णय गरेको छ। बैठकले घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्ने, घाइतेहरूको उपचारका लागि सरकारसँग अनुरोध गर्ने, उक्साहटपूर्ण अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्ने र शान्ति सुरक्षा कायम राख्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सांसद विक्रम सिंह थापा, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

महाराजगञ्ज नगरपालिकाले बन्द रहेका शैक्षिक संस्था, सार्वजनिक सेवा र बजारलाई क्रमशः सञ्चालनमा ल्याउने र शान्तिपूर्ण वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ८ चैत २०८२ १७:०६ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast