नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहस्थलमा राखिएको मिथिला चित्रकला र सिलाम साक्मा (दायाँ)।
काठमाडौँ- जनकपुरधाम अर्थात् मिथिला सभ्यता र संस्कृतिको केन्द्रविन्दु। प्राचीन मिथिलाको राजधानीसमेत रहेको जनकपुरधाम धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित छ।
माता सीताको जन्मस्थलका रूपमा चिनिने यो प्राचीन सहर धार्मिक पर्यटन, प्रसिद्ध जानकी मन्दिर र पोखरीका लागि चिनिन्छ। त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको मान्यताले यो सहरलाई देशविदेशमा चिनाएको छ।
नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी अभियान पनि यही जनकपुरधामबाट थालेका थिए। माघ ५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको उद्घोषसभालाई सम्बोधन गर्दै वालेन्द्रको चुनावी अभियान सुरु भएको थियो।
सभालाई सम्बोधन गर्ने क्रममा उनले राजनीतिकभन्दा आमनागरिकले आफ्नो दैनिकीमा भोगिरहेका ससाना विषय उठान गरे। उनको सम्बोधनका मुख्य विषय शिक्षा, स्वास्थ्य, अधिकार र सुशासनलगायत थिए।
वालेन्द्रले आफ्नो सम्बोधनमा मिथिला संस्कृति, धार्मिक पर्यटन, जनकपुरधामका पोखरीहरूको संरक्षण गर्नुपर्ने विषयलाई छुटाएनन्। जनकपुरधामका हरेक पोखरीको धार्मिक महत्त्व भएकाले संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।
वालेन्द्रले सम्बोधनका क्रममा राम–जानकी विवाहोत्सव अर्थात् विवाह पञ्चमीको पनि चर्चा गरे। त्रेता युगमा भगवान् राम र माता सीताको विवाह भएको जनकपुरधामलाई ‘वेडिङ डेस्टिनेसन (विवाह गन्तव्य)’ का रूपमा विकास गर्ने योजना अघि सारे।
‘आजभन्दा करिब डेढ महिनाअघि यहाँ रामजानकी विवाहोत्सव मनाइएको थियो, यो देखेपछि मनमा एउटा कुराले छोयो- विश्वकै प्रसिद्ध जोडी रामजानकीको विवाह यहाँ हुन्छ तर हामी नेपाली डेस्टिनेसन वेडिङका लागि जयपुर जान्छौँ,’ मैथिली भाषामा सम्बोधन गरेका बालेन्द्रले भनेका थिए, ‘डेस्टिनेसन वेडिङ गर्न मिथिलामा किन आउनुहुन्न तपाईँहरू? रामजानकीको विवाह यहाँ भएको छ भने हामी बाली पुगेर किन डेस्टिनेसन वेडिङ गर्छौँ? यहाँ किन हुँदैन? सरकारको नीति किन यस्तो छ कि मिथिलालाई…आकर्षणको केन्द्र किन बनाइएको छैन? यो कस्तो नीति हो?’
जनकपुरधामको सभामा वालेन्द्रको करिब नौ मिनेटको त्यो सम्बोधन देशविदेशमा चर्चाको विषय बन्यो। मिथिला सभ्यता र संस्कृतिको जगेर्नाबारे उनको सामान्य तर महत्त्वपूर्ण धारणाले धेरैको मन छोयो।
वालेन्द्रको पुर्ख्यौली घर जनकपुरधामबाट १४/१५ किलोमिटर दक्षिण–पश्चिमस्थित एकडारा गाउँपालिका हो। बुबा, आमाका साथै परिवारका अन्य सदस्यहरूले गाउँमा समय बिताए पनि उनी काठमाडौँमै हुर्किए। आयुर्वेदिक चिकित्सक बुबा रामनारायण साह जागिरका क्रममा काठमाडौँ आएका थिए।
काठमाडौँमा हुर्किएका वालेन्द्र जनकपुरधाम वा आफ्नो पुर्ख्यौली घर महोत्तरीको एकडारामा धेरै समय बिताउन पाएनन्। तर उनको जीवनशैलीमा मिथिला सभ्यता र संस्कृतिप्रतिको उनको अनुराग प्रस्ट देखिन्छ।
जनकपुरधाममा उनले गरेको पहिलो राजनीतिक भाषणमै यसको प्रमाण दिइसकेका थिए। मिथिला सभ्यतासँग जानकार भएकै कारण काठमाडौँमा सधैँ नेपाली भाषामा संवाद गर्ने वालेन्द्र जनकपुरधाम पुगेर मैथिली भाषामा सम्बोधन गरे।
वालेन्द्रको मिथिला सभ्यता र कलासंस्कृतिप्रतिको लगाव प्रधानमन्त्रीको शपथग्रहण समारोहमा पनि झल्कियो। शपथग्रहण समारोहस्थलमा मिथिला संस्कृति भल्काउने सांस्कृतिक प्रतीक राखिएको थियो।
वालेन्द्रको शपथग्रहणस्थलमा राखिएको ‘मिथिला चित्रकला’ ले विवाहपछि बिदाइ भएर घर जान लागेकी छोरीको मनोभावबारे चित्रण गरेको छ। नवनविवाहिता छोरीलाई ‘महफा (डोली)’ मा राखेर बिदाइ गर्ने मिथिला संस्कृति हो। वालेन्द्रको शपथग्रहण समारोहमा राखिएको मिथिला चित्रकलामा पनि एक जना नवविवाहिता छोरी ‘डोली’ मा बसेको र दुई जना पुरुष (कहार) ले बोकेको देखिन्छ।
वालेन्द्र काठमाडौँमै हुर्किए पनि मिथिला सभ्यता र संस्कृतिप्रतिको प्रेम पारिवारिक जरोबाटै आएको जानकारहरू बताउँछन्। चुनाव अभियानका लागि महोत्तरीमा खटिएकी उनकी दिदी निधि साहले पनि मतदाताहरूसँग मैथिली भाषामै संवाद गरिरहेकी थिइन्। वालेन्द्रले जनकपुरधामको सभामा मैथिलीमै सम्बोधन गरे। मैथिली भाषामा गरेको उनको त्यो सम्बोधन अन्य भाषाभाषीहरूले प्रस्ट बुझे नै, मधेशका जिल्लाहरूमा ‘घण्टी’ को पक्षमा लहर सिर्जना गर्यो।
शपथग्रहणका लागि तयार पारिएको मञ्चको दाहिनेतर्फ ‘मिथिला चित्र’ र देब्रेतर्फ किराती संस्कृति झल्किने ‘सिलाम साक्मा’ राखिएका थिए। लिम्बू भाषामा सि को अर्थ मृत्यु, लामको अर्थ बाटो र साक्माको अर्थ छेक्नु हो। सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु रहेको जानकारहरू बताउँछन्। सिलाम साक्मा विशेष गरी लिम्बू समुदायले आफ्नो पहिचान झल्काउन प्रतीकका रूपमा प्रयोग गर्ने गर्छन्। त्यसैले यसलाई लिम्बू समुदायको मौलिक र सांस्कृतिक विम्बका रूपमा लिइन्छ। यो समुदायले सिलाम साक्मालाई सुरक्षा कवचका रूपमा लिने गर्छ। यी प्रतीकले नेपाली संस्कृतिको विविधताको सन्देश दिन खोजेका थिए।

वालेन्द्रको शपथग्रहणअघि १०८ जना वटुकहरूले स्वस्तिवाचन गरेका थिए भने १०७ भिक्षुहरूले अष्टमंगल पाठ पनि गरे। त्यस्तै समारोहमा सात जना ब्राह्मणले शंखनाद गरेका थिए। शपथग्रहण समारोहमा भगवान् शिव र पार्वतीको भेषमा महिला–पुरुष पनि देखिएका थिए।
२०४८ सालपछिका सबैभन्दा कान्छो प्रधानमन्त्री बनेका छन्, वालेन्द्र। ३६ वर्षीय वालेन्द्रले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले झापा–५ मा हराउँदै संसदीय यात्रा सुनिश्चित पारेका थिए।
स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका वालेन्द्र र्यापरका रूपमा समेत परिचित छन्। र्यापरबाट लोकप्रिय बनेका उनी यसअघि काठमाडौँ महानगरपालिकाको मेयर थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिनकै लागि वालेन्द्रले डेढ वर्ष कार्यकाल बाँकी छँदै मेयर पदबाट राजीनामा दिएका थिए।
मेयरबाट राजीनामा दिएर रास्वपाको वरिष्ठ नेता बन्दै वालेन्द्र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए। रास्वपाले चुनावअघि नै उनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्यो। नेपालको चुनावी इतिहासमा सम्भवतः पहिलोपटक निर्वाचनअघि प्रधानमन्त्री उम्मेदवार घोषणा गरिएको थियो।
रास्वपाको यो घोषणापछि नेपाली कांग्रेस पनि आफ्नो सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्न बाध्य भयो। प्रधानमन्त्रीको पदभार सम्हालिसकेका वालेन्द्रले आफ्नो नेतृत्वमा मन्त्रिपरिषद् गठन गरेका छन्। उनको अध्यक्षतामा मन्त्रिपरिषद्को पहिलो बैठक शुक्रबारै बसिसकेको छ।





