कास्कीका तीनवटै क्षेत्रको रातदेखि नै मतगणना तयारी

हिमाल प्रेस २१ फागुन २०८२ २१:३५ | Thursday, March 5, 2026
6
SHARES
कास्कीका तीनवटै क्षेत्रको रातदेखि नै मतगणना तयारी

पोखरा- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सम्पन्न मतदानमा कास्कीमा आजैदेखि मतगणना सुरु गर्ने तयारी छ। मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका संकलनपश्चात् सर्वदलीय बैठकपछि आज रातिदेखि नै गणना सुरु गरिने जानकारी दिए।

कास्कीमा कुल ३ वटा निर्वाचन क्षेत्र हुन्। पोखराको सहरी क्षेत्रका सबै मतपेटिका संकलन भइसकेका छन्। कास्की-१ अन्तगरत सबैभन्दा टाढा सिक्लेसबाट राति ९ बजेसम्म मतपेटिका पोखरा आइसक्ने अनुमान छ। मतगणनास्थलमा आवश्यक तारजाली तथा सिसी क्यामरा जडान गरी तयारी अवस्थामा राखिएको छ।

कास्की क्षेत्र-१ को मतगणना पोखरा १२ वडा कार्यालय, माटेपानीमा हुनेछ। कास्की क्षेत्र-२ को ड्यामसाइडस्थित सिँचाइ जलस्रोत कार्यालय र कास्की क्षेत्र-३ को मतगणना मालेपाटनस्थित कृषि मन्त्रालयको भवनमा हुनेछ। बिहीबार सम्पन्न मतदानमा कास्कीमा ६१ दशमलब ३४ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय, कास्कीले संकलन गरेको विवरणमा उल्लेख छ। प्रदेश निर्वाचन कार्यालय, पोखराले भने यकिन तथ्यांक निकाल्न बाँकी छ।

कास्कीमा १५३ मतदानस्थलमा २ अस्थायीसहित कुल ३६५ मतदान केन्द्र तय गरिएका थिए। कुल ३ लाख ८ हजार ५७२ जना मतदाता थिए। तीमध्ये महिला १ लाख ६० हजार १५३, पुरुष १ लाख ४८ हजार ४१५ तथा ४ अन्य मतदाता थिए। पुरुषको तुलनामा महिला मतदाता ११ हजार ७३८ जना बढी थिए। कास्कीमा २ हजार ८६१ जना अस्थायी मतदाता हुन्।

कास्कीमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित रुपमा सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले जानकारी दिए। उनले पनि मतपेटिका संकलनपश्चात् सर्वदलीय बैठकपछि निर्णय गरिने बताए। जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन्।

कास्कीमा २०७९ को चुनावमा ६० प्रतिशत मतदान भएको थियो। प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य चुनावमा ४६ र प्रदेशतर्फ ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए। मतदाता २ लाख ९१ हजार ५६८ जना थिए। २०७४ सालको चुनावमा कास्कीमा करिब ६७ प्रतिशत मतदान भएको थियो। त्यसबेला प्रत्यक्षतर्फ १७ दल र स्वतन्त्र गरी ९५ उम्मेदवार चुनावी मैदानमा थिए। २०७४ र २०७९ मा कास्कीका तीनवटै क्षेत्रको चुनाव नेकपा एमालेले जितेको थियो।

प्रकाशित: २१ फागुन २०८२ २१:३५ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast