प्रचण्ड २०६४ देखि निरन्तर संसदीय दलका नेता

हिमाल प्रेस १५ चैत २०८२ १५:४२ | Sunday, March 29, 2026
14
SHARES
प्रचण्ड २०६४ देखि निरन्तर संसदीय दलका नेता नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६४ सालदेखि निरन्तर संसदीय दलका नेता चयन हुँदै आएका छन्। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा पहिलोपटक संसदीय दलका नेता चयन भएका थिए।

त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावपछि उनी दोस्रोपल्ट संसदीय दलका नेता भए भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि पनि प्रचण्ड नै संसदीय दलका नेता बनेका थिए। नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएको बनेको नेकपामा केपी शर्मा ओली संसदीय दलको नेता थिए तर पछि सर्वोच्च अदालतले नेकपा एकताको वैधतामाथि प्रश्न उठाउँदै पूर्ववत् अवस्थामा फर्काइदिएको थियो। त्यसपछि प्रचण्ड नेकपा माओवादीको संसदीय दलको नेता भएका थिए।

२०७९ सालमा पनि प्रचण्ड संसदीय दलका नेता भएका थिए। उनी यसअघि झैँ अहिले पनि सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका हुन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गरेको हो। उनी संसदीय दलको नेता चयन भएको यो पाँचौँपटक हो।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट जितेको थियो।

प्रचण्ड तीनपटक प्रधानमन्त्री भइसकेका छन्। उनी पहिलोपटक २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा भएका थिए। त्यसपछि प्रचण्ड २०७३ साल र २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए।

प्रचण्ड पार्टीमा पनि झन्डै चार दशकदेखि कार्यकारी पदमा रहँदै आएका छन्। २०४६ मा नेकपा (मशाल) को महामन्त्री बनेका प्रचण्ड त्यसयता पार्टीमा निरन्तर शीर्ष पदमा रहँदै आएका हुन्। २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरी नेकपा (माओवादी) राखिएको थियो।

त्यति बेला माओवादीका महामन्त्री भएका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्ष भएका थिए। त्यसपछि पटकपटक पार्टीको नाम परिवर्तन भए पनि अध्यक्षमा भने प्रचण्ड रहँदै आएका छन्।

प्रकाशित: १५ चैत २०८२ १५:४२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast