शव फेला परेको स्थान।
पोखरा- पोखराको ड्यामसाइडमा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। आइतबार बिहान करिब ८ बजेतिर स्थानीय पोखरा–१७, ड्यामसाइड नजिकै नयाँ बनेको पक्की पुलमुनि शंकास्पद अवस्थामा सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए।
वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले सुटकेस खोलेर हेर्दा एक युवतीको शव फेला पारेका हुन्। बैदामका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले भने, ‘अन्दाजी २३/२४ वर्ष जस्तो देखिने युवतीको शव फेला परेको हो। उनको पहिचान खुलेको छैन। अनुसन्धान गरिररहेका छौँ।’
सुटकेसभित्र तन्नाले बेरिएको अवस्थामा शव भेटिएको बताइएको छ। घाँटीमा अलिअलि काटेजस्तो पनि रहेको डीएसपी भट्टराईले बताए। शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको छ। पोस्टमार्टम हुन बाँकी छ।
स्थानीयवासी चितेपानीस्थित मूलको पानी लिन त्यही पुल भएर दिनहुँ आउजाउ गर्छन्।





