काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा १५ रूपैयाँ बढाइएको जानकारी दिएको हो।
मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ८६ र तेस्रो वर्गका लागि एक सय ८७ कायम भएको छ।
डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ रुपैयाँ र एक सय ६७ रुपैयाँ पुगेको छ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गका रूपमा तोकेको छ।
पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत निगमले जनाएको छ।




