काठमाडौँ –अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालका न्यायाधीश आनन्द श्रेष्ठले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
ओली र लेखकको बयान बाँकी रहेकाले म्याद थप गरिएको काठमाडौँ अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै श्रेष्ठको इजलासले केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेकाले प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न समेत आदेश दिएको छ।
म्याद थपका लागि प्रहरीले लेखकलाई सरकारी वकीलको कार्यालय हुँदै काठमाडौं अदालतमा पेश गरेको थियो भने पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालबाट अदालतमा हाजिर गराइएको थियो।
गत भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि ओली र लेखकलाई शनिबार पक्राउ गरिएको थियो। पक्राउ पछि ओली उपचारका लागि शिक्षण अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई प्रहरीको २ नं गण महाराजगन्जमा राखिएको छ।
प्रहरीले दुवै जनालाई म्याद थपका लागि अदालत लगेको थियो।




