काठमाडौँ- नेकपा एमाले तानसेन नगर कमिटी विघटन गरिएको छ। आफ्ना उम्मेदवार निर्वाचनमा पराजित भएपछि विघटन गरिएको हो। एमालेको गढ मानिएका वडाहरूमा समेत अपेक्षित मत नआएको बैठकले निष्कर्ष निकालेको छ।
एमाले तानसेन नगर कमिटीको मंगलबार बसेको बैठकले वर्तमान कमिटी विघटन गर्ने निर्णय गरेको हो। गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेका उम्मेदवारलाई निर्वाचनमा जिताउन नसकेको भन्दै वर्तमान कमिटी विघटन गरिएको एमाले नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले बताए।
उनका अनुसार मातहतका सबै वडा कमिटी विघटन गरिएको हो। नैतिकताका आधारमा वर्तमान कमिटी विघटन गरिएको उनले बताए। अब अधिवेशन गरेर नयाँ नेतृत्व निर्वाचित हुनेछ। आगामी जेठ ३ गते नगर कमिटीको अधिवेशन हुनेछ। तीन महिनाभित्र सबै वडा कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष आत्रेयले बताए।
आम कार्यकर्ताको माग अनुसार चुस्तदुरुस्त नयाँ नेतृत्व गठन गर्नका लागि बाटो खुला गरेको उनले बताए। बैठकमा वडा कमिटीका अध्यक्षहरूले वडागत अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए।
आगामी दिनमा पार्टीलाई कसरी बलियो बनाएर अगाडि बढ्न सकिन्छ भन्ने बारे छलफल भएको सचिव महेशलाल शाक्यले बताए। बैठकमा पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले आफूलाई मत दिएका मतदातालाई धन्यवाद दिए। चुनावी अभियानमा खट्ने पार्टीका नेता तथा कार्यकर्तालाई पनि धन्यवाद दिए। आगामी दिनमा जनताको सेवामा खटिन उनले निर्देशन दिए।




