काठमाडौँ- ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि विशेष अभिमुखीकरण कार्यशाला सुरु भएको छ।
दुई दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल (डीपी) र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर गरेका छन्। कार्यक्रममा सभापति रवि लामिछाने, उपसभापतिद्वय, महामन्त्री कविन्द्र बुर्लाकोटी र आमन्त्रित प्रशिक्षकहरूले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यसूची रहेको छ।
अभिमुखीकरणमा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी लगाएतका विषयमा प्रशिक्षित गराइने रास्वपाले जनाएको छ। संसद्को संरचना तथा कार्यप्रणाली सांसदका अधिकार र जिम्मेवारी, देशको वर्तमान अवस्था र पार्टीका प्रतिबद्धता, कानुन निर्माण प्रक्रियामा सांसदहरुको भूमिकाका विषयमा विज्ञहरुमार्फत अभिमुखीकरण गराइने सो पार्टीले जनाएको छ।
त्यसैगरी योजना बजेट निर्माण सुशासन र राजनीतिक संस्कार विकासका विषयमा समेत नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण गराइने नेताहरुले जानकारी गराएका छन्।
उद्घाटन सत्रमा उपसभापति अर्यालले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले जित हासिल गरे पनि देश र जनताले जित्न बाँकी रहेको बताए। उनले सबै नेपालीलाई मेरा लागि सरकार छ भन्ने अनुभूत गराउने गरी काम गर्नुपर्ने बताए। अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोशा, विश्वास र क्षमताका कारण जनताको विश्वास प्राप्त भएको स्पष्ट पारे।
त्यस्तै रास्वपाका अर्का उपसभापति वाग्लेले नेपालमा अहिले पार्टीलाई ठूलो जनमत प्राप्त भएको भन्दै सचेत भएर जनप्रतिनिधिहरु देश र जनताका लागि क्रियाशिल हुनुपर्नेमा जोड दिए। उनले आफूहरू कानुन बनाउन आएको र आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्नेमा जोड दिए।
पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरी बुधबार अभिमुखीकरण कार्यक्रम समापन हुने नेताहरुले जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ गरी १८२ सिट हासिल गरेको छ। सो पार्टीले बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। कार्यशालाको कार्यतालिका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नाम छैन। उद्घाटन कार्यक्रममा सभापित लामिछाने पनि देखिएका छैनन्।





