काठमाडौँ- ६ दशकदेखि वाम राजनीतिमा संलग्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चारपटक प्रधानमन्त्री भए। पार्टी अध्यक्षमा तेस्रो कार्यकाल बिताइरहेका उनका लागि वर्ष २०८२ राजनीति र व्यक्तिगत रूपमा संकटपूर्ण अवस्थामा बितेको छ।
भदौ २३ गतेसम्म नेपाली कांग्रेस र एमाले गठबन्धनको संयुक्त सरकारका शक्तिशाली प्रधानमन्त्री रहेका ओलीले पछिल्ला आठ महिनामा (भदौयता) जीवनकै संकटपूर्ण अवस्था व्यहोरेका हुन्। पछिल्लो घटनाक्रमले २०३० सालको एउटा प्रकरण स्मरण गराएको छ। त्यति बेला ओली राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न आरोपमा गिरफ्तार भएका थिए। उक्त आरोपमा ओलीले चार वर्ष गोलघरसहित १४ वर्ष जेल जीवन बिताउनुपरेको थियो।
२०४५ सालमा जेलबाट रिहा भएका ओली त्यसयता भएका राजनीतिक आन्दोलनमा धरपकडमा परे पनि शुक्रबारको पक्राउ घटनाको प्रकृति र उनीमाथि लागेको आरोप भिन्न छ।
जेनजी आन्दोलनका सम्बन्धमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा ओलीलाई शनिबार बिहान निवासबाटै पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री ओलीविरुद्ध प्रहरीले जेनजी आन्दोलन दमन गरेको आरोपमा ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको छ। ओली पक्राउ मात्रै परेका छैनन्, उनले भदौयता ६ वटा गम्भीर घटना व्यहोरेका छन्। ती यसप्रकार छन् :
आगजनीबाट घर नष्ट : केपी शर्मा ओली बस्दै आएको भक्तपुर बालकोटस्थित निवासमा आगजनी गरिएको थियो। भदौ २३ को जेनजी आन्दोलनपछि आक्रोशित समूहले २४ गते उनको घरमा प्रवेश गरी आगजनी गरेको थियो। आगजनीका कारण घरमा बस्नै नसक्ने अवस्था उत्पन्न भएपछि ओली निवास गुन्डुमा सारिएको छ। नेपालको इतिहासमै बहालवाला प्रधानमन्त्रीको निवासमा आगजनी भएको त्यो घटना सम्भवतः पहिलो थियो।
प्रधानमन्त्रीबाट राजीनामा : सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार उन्मूलन गर्नुपर्ने मागसहित जेनजी युवा आन्दोलनमा उत्रिँदा प्रहरी प्रशासन दमनमा उत्रियो। सो क्रममा भदौ २३ मा स्कुले विद्यार्थीसहित १९ जनाको ज्यान गएको थियो। त्यसपछि आक्रोशित समूहले संसद् भवन जलायो।
सर्वोच्च अदालत र सिंहदबारमा पनि गम्भीर क्षति पुग्ने गरी आगजनी गरिएको थियो। विभिन्न नेताहरूको निजी निवास, व्यावसायिक प्रतिष्ठान र शीतल निवासमा समेत प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। विरोध र आक्रोश थेग्न नसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। उनी नेपाली कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारका बलिया प्रधानमन्त्री थिए।
सेनाको सुरक्षामा आश्रित : प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली नेपाली सेनाको हेलिकप्टरमा बालुवाटारबाटै भाग्न बाध्य भएका थिए। करिब दुई सातासम्म सेनाको सुरक्षामा रहेका ओली सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि सार्वजनिक भएका थिए। बहालवाला प्रधानमन्त्रीले हेलिकोप्टर चढेर भाग्नुपरेको घटना नेपालको इतिहासमा यसअघि भएको पाइँदैन।
चुनावमा पराजित : केपी शर्मा ओली फागुन २१ गते सम्पन्न निर्वाचनमा झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भए। यसअघि पटकपटक सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका ओलीलाई काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र शाहले पराजित गरेका हुन्। वालेन्द्र ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा ओलीले १८ हजार ७३४ मत ल्याएका थिए।
ओली मात्र पराजित भएनन्, उनी नेतृत्वको पार्टीका सबै पदाधिकारी निर्वाचनमा पराजित भए। २७५ प्रतिनिधिसभामा एमालेले जम्मा २५ सिटमा चित्त बुझाउनुपरेको छ। यसअघि कुनै पनि एमाले पार्टीको अध्यक्ष भएका बेलामा यसरी लज्जास्पद हार व्यहोर्नुपरेको थिएन। २०६४ को प्रतिनिधिसभा सदस्य चुनावमा एमालेले लज्जास्पद नतिजा ल्याएपछि तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएका थिए। तर ओली चुनावमा पराजित भए पनि पछुतोमा परेको देखिएको छैन।
पिताको निधन : फागुन २९ गते केपी शर्मा ओलीलाई पितृशोक पर्यो। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो। उनले पिताको काजकिरिया सनातन पद्धतिअनुसार सम्पन्न गरेका छन्। ओली अहिले पनि सेतो पहिरनमा छन्। कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्रीमध्ये ओलीले मात्रै आफ्ना पिताको काजकिरिया गरेका हुन्। अध्यक्ष ओली आफैँ अस्वस्थ छन्। दुवै मिर्गौला प्रत्यारोपण गरिएको छ।
फौजदारी मुद्दामा पक्राउ : जेनजी आन्दोलनका सम्बन्धमा छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा ओलीलाई शनिबार बिहान निवासबाटै पक्राउ गरिएको छ। सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आयोगले फागुन २४ मा बुझाएको प्रतिवेदनका आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरेको घटनामा आयोगले उनीहरूलाई जिम्मेवार भनेर कारबाहीका लागि सिफारिस गरेको छ।




