काठमाडौँ– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरूद्ध संवैधानिक, कानुनी र राजनैतिकरूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ।
शनिबार बसेको देउवा समूहका शीर्ष नेताहरूको बैठकले सरकार राजनीतिक प्रतिशोधको हिसाबले अगाडि बढेको ठहर गर्दै ओली–लेखक गिरफ्तारीविरूद्ध प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकपछि नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा निकालेको विज्ञप्तिमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका नेता कार्यकर्तालाई तयार रहन आग्रह गरेका छन्।
ओली र लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै विज्ञप्तिमा तत्काल रिहा गर्न माग गरिएको छ। सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा गरिएको भन्ने ‘बदनियतपूर्ण’ कार्यले गम्भीर संवैधानिक र कानुनी प्रश्न उब्जाएको खड्काले जिकिर गरेका छन्।
‘आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा प्रतिवेदनको पेज नं.७२१ को सिफारिसबमोजिम अनुसन्धान र तहकिकात र अभियोजन गर्न गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने भनिएकोमा कुनै पनि प्रक्रिया पूरा नगरिकन तत्काली सरकारका पदाधिकारीलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप छ, राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित छ,’ विज्ञप्तिमा भनिएको छ।





