काठमाडौँ- संघीय संसद अन्तर्गत राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनियताको शपथ गराइएको छ।
सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
शपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसदको लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए। गत माघ ११ गते राष्ट्रियसभाका १८ सदस्यका लागि निर्वाचन भएको थियो।
निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित भएका थिए।
त्यसै गरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल निर्वाचित हुनुभएको थियो भने गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका हुन्। ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ।





