नेतान्याहुले भने- रात अत्यन्तै कठिन तरिकाले बित्यो

हिमाल प्रेस ८ चैत २०८२ १२:४४ | Sunday, March 22, 2026
34
SHARES
नेतान्याहुले भने- रात अत्यन्तै कठिन तरिकाले बित्यो तस्बिर : एफपी

काठमाडौँ– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी इजरायलमा इरानका दुईवटा मिसाइल आक्रमणपछि रात अत्यन्तै कठिन तरिकाले बितेको बताएका छन्। ती आक्रमणमा १२० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर छ।

पहिलो आक्रमण शनिबार राति डिमोना सहरमा भएको थियो। त्यो ठाउँ देशको आणविक अनुसन्धान केन्द्र र हेभी–वाटर रिएक्टर नजिक पर्छ। केही घण्टापछि दोस्रो आक्रमण नजिकैको अराडमा भएको थियो। यसबाट आवासीय भवनहरूमा ठूलो क्षति पुर्‍याएको छ।

‘हामी सबै मोर्चाबाट आफ्ना शत्रुहरूमाथि प्रहार जारी राख्न प्रतिबद्ध छौँ,’ नेतान्याहुले एक विज्ञप्तिमा भनेका छन्।

इजरायली सेनाले हवाई प्रतिरक्षा प्रणालीले किन ती मिसाइल रोक्न सकेन भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। अधिकारीहरूका अनुसार दोस्रो आक्रमणमा अझ शक्तिशाली वारहेड प्रयोग गरिएको थियो।

इरानका वरिष्ठ अधिकारीहरूले इजरायलतर्फ प्रक्षेपण गरिएका मिसाइल अवरोध गर्न असफल हुनु युद्ध नयाँ चरणमा प्रवेश गरेको संकेत भएको बताएका छन्। इरानका संसद् सभामुख मोहम्मद बाघेर घालिबाफले एक्समा लेखेका छन्, ‘इजरायलको आकाश अब असुरक्षित छ।’

इरानी रिभोलुसनरी गार्ड्सका एयरोस्पेस प्रमुख मजिद मोउसभीले पनि इरानका नयाँ रणनीति र प्रक्षेपण प्रणालीहरूले अमेरिका र इजरायललाई ठूलो झट्का दिने बताएका छन्।

इजरायलका सेनाप्रमुख एयाल जामिरले इरानविरुद्धको युद्ध मध्यम चरणमा पुगेको बताएका छन्। उनले आगामी महिनाको सुरुमा पर्ने यहुदी पर्व पासओभरसम्म पनि युद्ध जारी रहने संकेत दिएका छन्।

जनरल स्टाफका प्रमुख जमिरले अमेरिका–इजरायलको संयुक्त आक्रमण प्रणालीगत, रणनीतिक, सैनिक, आर्थिक र सरकारी उपलब्धिमा परिणत हुँदै गएको बताएका छन्।

आक्रमण सुरु भएको तीन सात पूरा भएको सन्दर्भमा भिडियो सन्देश दिँदै उनले इजरायलले भविष्य र स्वतन्त्रताका लागि लडाइँ जारी राख्न तयार रहनुपर्ने उल्लेख गरेका छन्।

 

इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको समयसीमा दिएका छन्। उनले इरानले आदेश नमानेमा त्यहाँका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका हुन्।

शनिबार साँझ ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा अमेरिकी राष्ट्रपतिले लेखेका छन्, ‘इरानले ठीक यही समयदेखि ४८ घण्टाभित्र यो महत्त्वपूर्ण जलमार्ग खोलेन भने संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न विद्युत् केन्द्रहरूमा आक्रमण गरी ध्वस्त पार्नेछ र सबैभन्दा ठूलो केन्द्रबाट सुरुवात गर्नेछ।’

ट्रम्पले कुनकुन विद्युत् केन्द्रलाई निसाना बनाइने हो भन्ने स्पष्ट पारेका छैनन्।

तेल र अन्य सामान ढुवानीका लागि अत्यन्तै महत्त्वतपूर्ण मार्ग मानिने होर्मुज क्षेत्र बन्द हुँदा विश्वव्यापी ऊर्जा मूल्यमा वृद्धि भइसकेको छ।

यस्तो अवस्थामा ट्रम्पको यो समयसीमाले तनाव अझ बढ्ने संकेत गरेको छ। यसअघि शुक्रबार उनले अमेरिकी सैन्य अभियान क्रमशः घटाउने विषयमा विचार गरिरहेको र अमेरिकी सेना आफ्नो लक्ष्य नजिक पुगिसकेको बताएका थिए।

इरानका परराष्ट्रमन्त्री अब्बास अब्बास अराघचीले भने पूर्वाधारमा आक्रमण भयो भने कुनै पनि संयम नरहने चेतावनी दिएका छन्। उनले शुक्रबार इजरायलले दक्षिण पार्स ग्यास क्षेत्रमा गरेको आक्रमणको प्रतिक्रिया दिँदै यस्तो चेतावनी दिएका हुन्।

समाचार एजेन्सी एपीको सहयोगमा

प्रकाशित: ८ चैत २०८२ १२:४४ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast