कांग्रेस सभापति थापाले प्रस्तुत गरे १५औं महाधिवेशनको कार्यतालिका

हिमाल प्रेस १० चैत २०८२ १५:०५ | Tuesday, March 24, 2026
10
SHARES
कांग्रेस सभापति थापाले प्रस्तुत गरे १५औं महाधिवेशनको कार्यतालिका

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका छन्।

मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उनले चैतबाट महाधिवेशन प्रक्रिया सुरु गरी भदौ मसान्तभित्र सम्पन्न गर्ने प्रस्ताव पेस गरेका हुन्।

प्रस्तावअनुसार पार्टीले चैत मसान्तसम्म सदस्यता फारम सबै तहमा पुर्‍याउने, सदस्यता वितरण र अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने छ।

वैशाखदेखि क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रिया सुरु गर्नेछ। असार १५ गतेसम्म केन्द्रले क्रियाशील सदस्यताको छानबिन सम्पन्न गर्ने र असार मसान्तमा सदस्यता विवरण निर्वाचन समितिलाई बुझाउने योजना रहेको छ। त्यसपछि साउन महिनाभरि वडा, पालिका तथा क्षेत्रीय अधिवेशनहरू चरणबद्ध रूपमा सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

यसअनुसार साउन ६ गते गाउँ/नगर वडा अधिवेशन, साउन १२ गते गाउँ/नगरपालिका अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्र अधिवेशन र साउन ३० गते प्रतिनिधिसभा क्षेत्र अधिवेशन गर्ने प्रस्ताव छ।

त्यस्तै भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरिसकेको र एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार यो कार्यतालिका अघि सारिएको हो।

यसअघि पार्टीको १४ औं महाधिवेशन २०७८ मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न भएको थियो। प्रस्तावित तालिका पारित भएमा कांग्रेसले आगामी महिनादेखि नै संगठनात्मक अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढाउनेछ।

प्रकाशित: १० चैत २०८२ १५:०५ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast