नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- निर्वाचनको मौन अवधिमा नेपाली कम्युनिस्ट पार्टी र तारा चिह्नबाहक उम्मेदवार बिरुद्ध विभिन्न सामाजिक सञ्जालमार्फत झुठो सामग्रीप्रचार भएकोप्रती नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ।
पार्टीका तर्फबाट केन्द्रीय कार्यालय सचिव गणेशमान पुनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेको आरोप लगाएका छन्।
‘पार्टीका संयोजक प्रचण्डको आवाज जस्तो आउने गरि बनाइएका नक्कली भिडियो बन्द गराउन पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको छैन।’ पुनले भनेका छन्, ‘देश जलाउने, जे न जि युवाको हत्या गर्ने तथा देशको अस्तित्व नै जोखिममा पार्न खोज्ने शक्तिहरु नै यस्ता दुस्प्रचारमा लागिरहेको छ।’ यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लंघन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण भएको नेकपाको ठहर छ ।





