काठमाडौँ- बदलाको कथामा फिल्म ‘मुक्तिपुर’ बन्ने भएको छ। क्राइम रिभेञ्ज जनरामा तयार हुने फिल्मले बदलाको कथा प्रस्तुत गर्ने फिल्मका निर्देशक सुनिल पाण्डेले बताए।
‘फिल्म एक परिवारको प्रतिनिधि पात्र जसको जीवनमा घट्ने महत्वपूर्ण घटना र त्यसले उत्पन्न गर्ने परिस्थितिपश्चात उसले गर्ने संघर्ष र सफलताको कथामा बन्ने छ’, निर्देशक पाण्डेले भने, ‘जसले बदलाको भावलाई प्राथमिकता दिनेछ।’
विभिन्न छोटो फिल्म र वृत्तचित्र निर्देशनमा अनुभव बटुलेका पाण्डेले यही फिल्मबाट ठूलोपर्दाको डेब्यू गरेका छन्। फिल्मको कथा उनले नै लेखेका हुन्।
काठमाडौंको बसुन्धारास्थित इन्द्रायणी मन्दिरमा मंगलबार टिमले क्ल्याप तथा स्कृप्ट पूजा गर्दै छायांकन थालेको छ। फिल्म सरद महतोले छायांकन गरिरहेका छन्।
फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, आकृति बुढाथोकी, घनश्याम जोशी, सरस्वती अधिकारी, अनिल कुर्मी, रुपेश लामा, सुदिप तिमिल्सिना, प्रवीणकुमार चौधरीलगायत कलाकारको अभिनय रहने बताइएको छ।

अभिनेता नाजिरले ‘मुक्तिपुर’ आफूले विगतकोभन्दा भिन्न कथासँगै फरक अभिनय रहेको बताएका छन्। फिल्म आफ्नो करियरको महत्वपूर्ण इट्टा रहने उनको विश्वास छ।
आकृति बुढाथोकीको यो डेब्यू फिल्म हो। यसअघि उनी म्युजिक भिडियोमा अभिनय गरिरहेकी थिइन्। ठूलोपर्दाको अभिनयलाई उनले ठूलो उपलब्धिको रुपमा लिएकी छन्।
फिल्म साहिबा फिल्मस् प्रोडक्सनको ब्यानर र एभरेष्ट फिल्म एकेडेमीको सहकार्यमा बन्नेछ। करिब १० वर्षदेखि फिल्म अभिनय, निर्देशन, सम्पादन, छायांकन र ध्वनि शिक्षा प्रदान गर्दै आएको एभरेष्ट एकेडेमीले पहिलोपटक फिल्म निर्माणमा पाइला चालेको छ।
फिल्ममा विजय राजवंशी र रोशन पासवानले लगानी गरेका छन्। कार्यकारी निर्मातामा विशाल श्रेष्ठ छन्।





