प्रधानमन्त्री शाहसँग सांसदहरूको छलफल, के भयो कुराकानी?

हिमाल प्रेस १६ चैत २०८२ १५:३५ | Monday, March 30, 2026
30
SHARES
प्रधानमन्त्री शाहसँग सांसदहरूको छलफल, के भयो कुराकानी? प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले कोशी र कर्णाली प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयमा उनले दुवै प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

छलफलका क्रमाम प्रधानमन्त्री शाहले तत्काल गर्न सकिने कामबारे राय मागेको सांसदहरूले बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशका सांसद रमेश मल्लले प्रधानमन्त्री शाहबाट निर्वाचन क्षेत्रमा तत्काल गर्न सकिने कामबारे जानकारी लिने काम भएको जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले निर्वाचन क्षेत्रमा तत्काल गर्न सकिने कामबारे जानकारी लिनुभयो,’ मल्लले हिमालप्रेससँग भने,‘उहाँले यो वर्ष सुशासनतर्फ विशेष जोड हुने बताउनुभयो।’

छलफलका क्रममा कर्णालीका सांसदहरूले बजेट विनियोजनमा आफ्नो प्रदेशसँग विभेद नगर्न सुझाव दिएका थिए।

जवाफमा प्रधानमन्त्री शाहले बजेटमा कर्णालीलाई प्राथमिकता राखिने भए पनि तत्काल सुशासन र शिक्षा क्षेत्रमा जोड दिने सरकारको नीति रहेको बताएको सांसद मल्लले बताए।

‘बजेटका लागि सीमित श्रोत छ, कर्णालीलाई हामीले प्राथमिकतामै राख्ने हो,’ प्रधानमन्त्री शाहको भनाई उद्धृत गर्दै उनले भने,‘पहिलो वर्ष सुशासनतर्फ सरकारको विशेष ध्यान रहनेछ।’

सांसदहरूले प्रतिनिधिसभाको अधिवेशन बनाउन पनि प्रधानमन्त्री शाहसँग माग गरेका छन्। संसद सञ्चालन गरेर छलफल गर्ने वातावरण बनाइदिन आफूहरूले प्रधानमन्त्रीसँग माग गरेको मल्लले जानकारी दिए।

त्यस्तै उनीहरूले बर्खाको मौसम आउन थालेकोले विपद् जोखिम न्यूनीकरणका लागि सरकारलाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री शाहले त्यसअघि कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। कोशी प्रदेशका सांसदहरूसँगको छलफलका क्रममा पनि प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्या र तत्काल गर्नुपर्ने कामबारे जानकारी मागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य दीपककुमार साहले बताए।

प्रधानमन्त्रीले शिक्षाको स्तरोन्नत्ती र सुशासन कायम गर्नतर्फ विशेष जोड दिएको उनले बताए।

प्रकाशित: १६ चैत २०८२ १५:३५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast