पश्चिम एसियाली मुलुकका १८ सयभन्दा बढी उडान रद्द, लाखौँ यात्री अलपत्र

हिमाल प्रेस १७ फागुन २०८२ १३:५१ | Sunday, March 1, 2026
14
SHARES
पश्चिम एसियाली मुलुकका १८ सयभन्दा बढी उडान रद्द, लाखौँ यात्री अलपत्र अमेरिका-इजरायल र इरानबीचको द्वन्द्वका कारण धेरै वायुसेवाहरूले उडान रद्द गरेपछि अलपत्र यात्रुहरू लेबनानको बेरुतस्थित राफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणका कारण शनिबार पश्चिम एसिया (अमेरिकाबाट मध्यपूर्व) र त्यस बाहिरका क्षेत्रमा उडानहरू अवरुद्ध भएका छन्। खाडी देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि युरोप, अफ्रिका र पश्चिमबाट एसियालाई जोड्ने प्रमुख विमानस्थलहरू प्रत्यक्ष रूपमा आक्रमणको चपेटामा परेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।

इजरायल, कतार, सिरिया, इरान, इराक, कुवेत र बहराइनले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि सयौँ हजार यात्रु अलपत्र परेका छन्। फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटरेडार२४ का अनुसार संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो हवाई क्षेत्र अस्थायी र आंशिक रूपमा बन्द गरेको घोषणा गरेपछि त्यहाँको आकाशमा पनि कुनै उडान गतिविधि देखिएको छैन।

दुबई, अबुधाबी र दोहाका प्रमुख हब विमानस्थल बन्द भएका छन् र पश्चिम एसियाका प्रमुख वायुसेवा कम्पनीहरूले एक हजार आठ सयभन्दा बढी उडान रद्द गरेका छन्। ती विमानस्थलमा सञ्चालन हुने तीन प्रमुख एयरलाइन्स एमिरेट्स, कतार एयरवेज र एतिहादमार्फत सामान्यतया दैनिक करिब ९० हजार यात्रु ती हबहरूबाट आवतजावत गर्छन्। मध्यपूर्वका अन्य गन्तव्यतर्फ जाने यात्रु संख्या अझ बढी हुने उड्डयन विश्लेषण संस्था सिरियमले जनाएको छ।

संयुक्त अरब इमिरेट्सका दुई विमानस्थलमा पनि इरानको क्षेप्यास्त्र आक्रमण भएको जनाइएको छ। त्यहाँको सरकारले शनिबार इरानी ब्यालिस्टिक क्षेप्यास्त्र समावेश खुला आक्रमण भएको भन्दै निन्दा गरेको छ।

संयुक्त अरब इमिरेट्सकै सबैभन्दा ठूलो र विश्वकै व्यस्तमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारीहरूका अनुसार इरानी आक्रमणमा चार जना घाइते भएका छन्।

अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलले ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको र सातजना घाइते भएको जनाएको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आक्रमण भएको खबर आएको छ।

वायुसेवा उद्योग विश्लेषक तथा एट्मोस्फियर रिसर्च ग्रुपका अध्यक्ष हेन्री हार्टेभेल्टले भने, ‘यात्रुहरूका लागि यस अवस्थालाई सकारात्मक रूपमा व्याख्या गर्ने कुनै उपाय छैन। यी आक्रमणहरू कसरी विकसित हुन्छन् र कहिले अन्त्य हुन्छन् भन्नेमा निर्भर गर्दै आगामी केही दिन ढिलाइ वा उडान रद्द हुन सक्ने भएकाले तयारी अवस्थामा रहनुपर्छ।’

पश्चिम एसिया हुँदै उडान गर्ने वायुसेवाहरूले द्वन्द्व क्षेत्रबाट टाढा रहँदै साउदी अरबतर्फ दक्षिणतिर मार्ग परिवर्तन गर्नुपर्नेछ। यसले उडान समय घण्टौँले बढाउनेछ र थप इन्धन खपत हुनेछ। द्वन्द्व लम्बिएमा हवाई टिकटको मूल्य बढ्न सक्ने सम्भावना छ।

अतिरिक्त उडानहरूको चापले साउदी अरबका हवाई यातायात नियन्त्रकहरूलाई पनि दबाब पर्नेछ। सुरक्षित रूपमा व्यवस्थापन गर्न ट्राफिक सुस्त पार्नुपर्ने हुन सक्छ। साथै हवाई क्षेत्र बन्द गरेका देशहरूले आकाशमार्ग प्रयोग शुल्कबाट प्राप्त हुने आम्दानी पनि गुमाउनेछन्।

अमेरिकाको संघीय उड्डयन प्रशासनमा हवाई यातायात नियन्त्रणको जिम्मेवारी सम्हालिसकेका तथा हाल एम्ब्री-रिडल एरोनोटिकल विश्वविद्यालयका प्राध्यापक माइक म्याककर्मिकका अनुसार अमेरिकी र इजरायली अधिकारीहरूले सैन्य उडान कहाँ सञ्चालन भइरहेका छन् र इरानको क्षेप्यास्त्र प्रहार क्षमताबारे वायुसेवाहरूलाई जानकारी दिएपछि केही दिनभित्र यी देशहरूले आफ्नो हवाई क्षेत्रका केही भाग पुनः खोल्न सक्ने सम्भावना छ।

उनले भने, ‘ती देशहरूले त्यसपछि भन्न सक्छन्- ठिक छ, हामी आफ्नो हवाई क्षेत्रको यो भाग खोल्न सक्छौँ, तर अर्को भाग बन्द नै राख्नेछौँ। आगामी २४ देखि ३६ घण्टाभित्र आकाशमार्गको प्रयोग कसरी विकसित हुन्छ भन्ने देख्न पाइनेछ, किनभने सैन्य गतिविधि स्पष्ट हुँदै जाँदा र आक्रमणका कारण इरानको थप क्षेप्यास्त्र प्रहार गर्ने क्षमता कमजोर बन्दै जाँदा जोखिम घट्न सक्छ।’

प्रकाशित: १७ फागुन २०८२ १३:५१ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast