मोदीले बालेनलाई बधाई दिँदै भने- तपाईंसँग नजिकबाट सहकार्य गर्न उत्सुक छु

हिमाल प्रेस १३ चैत २०८२ १३:४९ | Friday, March 27, 2026
32
SHARES
मोदीले बालेनलाई बधाई दिँदै भने- तपाईंसँग नजिकबाट सहकार्य गर्न उत्सुक छु

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्।

उनले लेखेका छन्,‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।’

सन्देशमा माेदीले शाहको नेतृत्वप्रति नेपाली जनताले राखेको विश्वासको प्रशंसा गरेका छन्।  ‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्‍याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु’, मोदीले लेखेका छन्।

बालेन्द्रको उदय केवल वर्तमान राजनीतिक घटनाक्रमको परिणाम मात्र होइन, पछिल्ला वर्षहरूमा देखिएको जनअसन्तुष्टि र वैकल्पिक नेतृत्वको खोजीको निरन्तरता हो। काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा उनले देखाएको कार्यशैली पारदर्शिता, छरितोपन र ‘डेलिभरी’ले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुर्‍याएको थियो।

परम्परागत दलप्रति घट्दो विश्वास, विकासप्रति निराशा र सुशासनको अभावले नयाँ अनुहारप्रति आकर्षण बढेकाले उनी त्यसको प्रतीक बनेका हुन्। नेपाल-भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र आर्थिक रूपमा गहिरो छ।

खुला सीमा, श्रम आदानप्रदान, व्यापार र जनस्तरको सम्बन्धले यी दुई देशलाई विशेष बनाएको छ। भारतको ताजा सन्देशले एकातिर सम्बन्धको निरन्तरता संकेत गर्छ भने अर्कोतिर नयाँ नेतृत्वसँग नयाँ गति दिने अपेक्षा पनि झल्काएको देखिन्छ।

प्रकाशित: १३ चैत २०८२ १३:४९ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast