बायाँबाट : निश्कल राई, अनुश्का श्रेष्ठ र मनिष झा।
काठमाडौँ- प्रतिनिधिसभाका सदस्यहरूले भोलि (बिहीबार) पद तथा गोपनीयताको शपथ लिदैछन्। २७५ सांसदमध्ये आज (बुधबार) प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ लिँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीले अहिले ११ बजे शपथ लिएपछि भोलि उनै केसीले अन्य सांसदलाई शपथ गराउनेछन्। यसपटक सांसदहरूले आफ्नो मातृभाषामा पनि शपथ लिन सक्नेछन्। संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन्। ४७ सांसदले १७ वटा मातृभाषामा शपथ लिने छन्।
श्रम संस्कृति पार्टीका ७ जना सांसदले चारवटा मातृ भाषामा शपथ लिने तयारी गरेका छन्। अध्यक्ष हर्क साम्पाङले भने नेपाली भाषामै शपथ लिने सो पार्टीले जनाएको छ।
श्रम संस्कृतिका ७ सांसदले लिँदैछन् ४ भाषामा शपथ
नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएका संसद् सचिवालयले जनाएको छ। आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने तयारी गरेका छन्।
अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिँदैछन् । नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले बजिका भाषामा शपथ लिने संसद् सचिवालयले जनाएको छ।
भोजपुरी भाषमा कन्हैया बनियाँ, बुद्धिप्रसाद पन्त र रवीन्द्र पटेलले शपथ लिनेछन्। अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरिया थारू भाषामा करिश्मा कठरिया र राना थारू, कृपाराम राना थारू भाषामा शपथ लिनेछन् । मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ।
त्यसैगरि संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङमा परशुराम तामाङ, चाम्लिङमा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाम भाषमा रेनुका काउचाले शपथ लिने तयारी गरेका छन्।




