ढोरपाटनमा नियन्त्रणमा आउन थाल्यो दादुरा

हिमाल प्रेस ६ चैत २०८२ ५:५५ | Friday, March 20, 2026
4
SHARES
ढोरपाटनमा नियन्त्रणमा आउन थाल्यो दादुरा

बागलुङ- बागलुङको ढोरपाटनमा दादुरा संक्रमितको संख्या घट्न थालेको छ। गत फागुन ८ गते ढोरपाटन नगरपालिका-७, ८ र ९ मा दादुरा संक्रमण फैलिएको थियो।

फागुन २९ गतेदेखि यही चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमितको संख्या घट्दै गएको हो।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेको थियो।

खोप लगाएपछि दैनिक संक्रमित हुनेको संख्या कम भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिए।

खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ दादुराको शंकास्पद बिरामी अस्पतालमा आउने गरेकामा अहिले घटेर दैनिक एक/दुई जना मात्रै आउने गरेका छन्।

हालसम्म ११ जनामा संक्रमण पुष्टि भएको प्रमुख शर्माले जानकारी दिए। दादुराको लक्षण देखिएका ३१ जनाको नमुना संकलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ।

प्रमुख शर्माले भने, ‘खोप लगाएपछि संक्रमित घट्ने अपेक्षा छ, पछिल्लो केही दिन यता दैनिक शंकास्पद बिरामी कम भएका छन्, अब केही दिनमा पूर्ण रुपमा संक्रमण नियन्त्रणमा आउने देखिन्छ।’

हालसम्म १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ८५० बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए।

हालसम्म १३० शंकास्पद बिरामी छन्। हाल बुर्तिबाङ अस्पतालमा नौ र बोबाङ स्वास्थ्य चौकीमा ५ जना उपचाररत छन्।

अहिलेसम्म ७२ जना उपचारपछि घर फर्किएका छन् भने, १५ जना उपचाररत छन्। पाँच जनालाई पोखरा रेफर गरिएको बुर्तिवाङ अस्पतालले जनाएको छ।

प्रकाशित: ६ चैत २०८२ ५:५५ | Friday, March 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast