काठमाडौँ- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलहरूमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशले खेल जितेका छन्। लुम्बिनीले कोशी प्रदेशलाई १४८ रनले पराजित गर्यो भने सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४ विकेटले हरायो।
कोशीविरुद्ध लुम्बिनी बलियो
जनकपुरमा भएको पाँचौं खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ४९.३ ओभरमा २४९ रनमा अलआउट भयो। ओपनर रञ्जित खड्का र कप्तान देव खनालले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरे। खनालले १०० बलमा ९२ रन बनाए भने खड्काले ३० रन जोडे।
त्यसपछि लुम्बिनीको मध्य र तल्लो क्रमका ब्याट्सम्यानहरूले राम्रो सुरुवातलाई ठूलो स्कोरमा बदल्न सकेनन्। आकाश त्रिपाठीले १२, प्रज्ज्वल थापाले ७, ध्रव सुनारले १ र सुमित श्रेष्ठ ९ रन बनाएर आउट भए। सन्तोष यादवले ६२ बलमा ४८ रन बनाएर केही प्रतिरोध जनाए भने राजेन्द्र बम १६ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
कोशीका लागि कप्तान सुजन थपलियाले ४ विकेट लिए भने दीपेश कँडेलले २ विकेट झारे। विपिन महतो र प्रेम कामतले १-१ विकेट लिए।
जबाफमा २५० रनको लक्ष्य पछ्याएको कोशीको ब्याटिङ कमजोर देखियो। ओपनर सुरज श्रेष्ठ शून्यमा आउट भए भने अर्का ओपनर शाकिबले ७ रन बनाए। अंकित सुवेदीले ३० रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्। दीपेशले १५ र सुजनले ११ रन बनाए भने बाँकीले दोहोरो अंक छुन सकेनन्।
लुम्बिनीका सन्तोष यादवले ४ विकेट लिए भने राजेन्द्र बमले ३ विकेट लिए। निर्मल गुरुङले २ र सन्देश थापाले १ विकेट लिए।
सुदूरपश्चिमसँग कर्णाली निरीह
वीरगन्जमा भएको छैटौँ खेलमा कर्णाली प्रदेश ४ विकेटले पराजित भयो। पहिले ब्याटिङ गरेको कर्णाली ११९ रनमै समेटियो। ओपनर रविन्द्र शाही शून्यमै आउट भएपछि कर्णालीको सुरुवात खराब रह्यो। सुनिल धमला (२८) र अरविन्द घर्ती (१३) ले केही सम्हाले पनि विपिन रावतले ३३ रन बनाउँदा बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
सुदूरपश्चिमका हेमन्त धामीले ६ विकेट लिए। कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले १-१ विकेट लिए।
१२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पनि नियमित अन्तरालमा विकेट गुमायो। ओपनर अभिषेक पाल (६), राजु रिजाल (७) र नरेन भट्ट (७) सस्तोमै आउट भए। खड्क बोहोरा (२३) र किरण ठगुन्ना (२६) ले इनिङ्स सम्हाले।
नारायण जोशी शून्यमै आउट भए पनि मिलन बोहोरा (१८) र शेर मल्ल (१०) ले टोलीलाई २० ओभरभन्दा बढी बाँकी छँदै जित दिलाए। कर्णालीका लागि अनुज चनारा र दिवान पुनले २-२ विकेट लिए भने प्रकाश जैशी र दीपेन्द्र रावतले १-१ विकेट लिए।




