वामपन्थी दल : जुर्मुराउँदै पछिल्लो पुस्ता, मौन शीर्ष नेतृत्व

किरण पौडेल १२ चैत २०८२ ६:५२ | Thursday, March 26, 2026
158
SHARES
वामपन्थी दल : जुर्मुराउँदै पछिल्लो पुस्ता, मौन शीर्ष नेतृत्व

काठमाडौँ- फागुन २१ को चुनावपछि प्रमुख वामपन्थी दलभित्र दोस्रो र तेस्रो पुस्ताका नेताहरूले चुनावी परिणामको समीक्षा र नेतृत्व हस्तान्तरणको आवाज उठाउन थालेका छन्। तर शीर्ष नेतृत्व समीक्षा गर्न तत्पर देखिएको छैन र नेतृत्व हस्तान्तरणमा सकारात्मक दृष्टिकोण पनि छैन। त्यसैले पछिल्लो पुस्ताका नेताहरू वाम एकता सम्मको विकल्पमा छलफल गर्न थालेका छन्।

चुनावमा नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माओवादी, जनमोर्चा (मसाल), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) वामपन्थी दल पराजित भएका छन्। एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे समीक्षा गर्नुपर्ने अडानमा छन्। उनी भन्छन्, ‘यो स्थिति यथावत रह्यो भने आगामी चुनावमा एमालेको स्थिति स्कुटरमा अट्नेछ।’

एमाले उपमहासचिव योगेश भट्टराईले त एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पका साथ अघि बढ्न सुझाव माग्न थालेका छन्।

‘२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ। निर्वाचनको परिणामले एमालेलाई ठूलो धक्का लागेको छ। नेकपा एमाले जस्तो लोकप्रिय, बलियो जनआधार र सुदृढ संगठन भएको पार्टी किन यस्तो अवस्थामा पुग्यो? यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ। समीक्षा आग्रहभन्दा माथि उठेर गरिनुपर्छ’, भट्टराईले भनेका छन्।

उनले विभिन्न बुँदामा सुझाव मागेका छन्। ‘निर्वाचनमा एमालेको कमजोर परिणाम आउनुमा कुन-कुन कारण होलान्? किन? (नीति, नेतृत्व, संगठन, व्यवहार, कार्यशैली, व्यवस्थापन, एजेन्डा, प्रचार आदि) आन्तरिक र बाह्य कारणहरू उल्लेख गर्नुहोस्। एमालेको रूपान्तरणका लागि कुन-कुन पक्षमा के-के सुधार गर्नुपर्ला? सुधारका प्रस्तावहरूसहित रूपान्तरणको विधि र प्रक्रियाबारे सुझाव दिनुहोस्। एमालेका सबल र कमजोर पक्षहरू तथा यसको सम्भावना के-कस्तो देख्नुहुन्छ?’, उनले सोधेका छन्।

सुरेन्द्र र योगेशसहितका नेताहरू यसअघिको एमाले महाधिवेशनबाटै नेतृत्व परिवर्तन र रूपान्तरणका पक्षमा थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व लिने भएपछि उनीहरू संख्यात्मक रूपमा कमजोर बने। अहिले एमालेको लज्जास्पद मत आएपछि फेरि हस्तान्तरण/रूपान्तरणको कुरा उठाएका छन्। उनीहरूका अनुसार निर्वाचनमा पराजित हुनुको दोष मुख्य नेतृत्व हो।

‘हामी जेनजी मतदाताको भावनाअनुसार अघि बढ्न सकेनौँ। यसले हामीप्रति असन्तुष्टि बढायो’, पाण्डे सम्झन्छन्। एमाले उपमहासचिव भट्टराई पार्टीे यथास्थितिवादी भएका कारण ‘लोकप्रिय’ कुरा उठाउनेले चुनाव जितेको सुनाउँछन्। त्यसो त, एमालेको पदाधिकारी तहमा भन्दा पछिल्लो पुस्तामा रूपान्तरणको कुरा बढी उठेको छ। पार्टी र आन्दोलन बचाउन तत्काल रूपान्तरणको खाँचो रहेको एमालेका अर्का नेता प्रकाश पौडेल बताउँछन्।

एमाले रूपान्तरणका लागि सबै कमिटी भंग र सबै सदस्यहरू नवीकरण गर्नुपर्र्ने सुझाव उनको छ। ‘संगठित सदस्यले समेत मत नहालेको कुरा आइरहेको छ। यस्तो अवस्थामा सबै नवीकरण गरेर नयाँ तरिकाले अघि बढ्नुपर्छ,’ उनी भन्छन्। अर्का एमाले नेता समिक बडाल अब नेतृत्व रूपान्तरणमा जानुपर्ने सुनाउँछन्। ‘हामीले पहिले चुनावबारे समीक्षा गर्नुपर्छ। त्यसमा नेतृत्व रूपान्तरण/हस्तान्तरणसमेत गर्नुपर्छ’, उनी भन्छन्।

यसअघि एमालेमा उपाध्यक्ष विष्णु पौडेलले पार्टी पुनर्संरचना गर्नुपर्ने बताएका थिए। तर अहिले उनी मौन छन्। माथिल्लो पुस्ता रूपान्तरणका लागि नताते पनि तल्लो पुस्ता भने जुर्मुराएको छ। यसबारे एमाले अध्यक्ष केपी शर्मा ओली मौन छन्। उनी बुवा मोहनप्रसादको शोकमा रहेकाले पनि मौन रहेको नेताहरू बताउँछन्। तर ओली अन्य राजनीतिक कार्यक्रममा भने सहभागी हुँदै आएका छन्।

चुनावअघि तत्कालीन नेकपा (माओवादी केन्द्र) सहित २२ बढी पार्टी र विभिन्न समूहसँग एकता गरेको नेकपाले अपेक्षाकृत् मत ल्याएन। नेकपाले प्रत्यक्षमा आठ सिट ल्याउँदा समानुपातिकमा आठ लाख ११ हजारमा चित्त बुझाउनुपर्‍यो। तर अहिलेसम्म यो पार्टीमा समीक्षा भएको छैन।

नेकपामा तल्लो पुस्ताले पुस्तान्तरणको कुरा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कारबाहीको कुरा उठाइरहेका छन्। नेकपाको हाल केन्द्रीय कमिटी २५ सदस्यीय छ।

प्रचण्डले चुनावमा आफ्नै नेताहरूले घण्टीमा मत हालेको भन्दै कारबाहीको हुंकार गरेका छन्। उनले पराजयको कारण खोजेका छैनन्। नेकपामा समेत पछिल्लो पुस्ता अब समीक्षा गर्दै रूपान्तरणमा जानुपर्ने बताउन थालेका छन्।

‘नेकपा पुनरावृत्तिको अनुनय हाइन, आजको परिवर्तित सन्दर्भमा रूपान्तरित नेकपाको परिकल्पना गरेर अघि बढ्नुपर्छ,’ नेकपा नेता रन्जित तामाङ भन्छन्, ‘बहस गरेर अघि बढौँ। समीक्षा मात्र होइन। निर्मम समीक्षा गरेर अघि बढ्नुपर्छ।’

रन्जितसहितका नेताहरूले वामपन्थी एकताको कुरा उठाउन थालेका छन्। तर नेतृत्व यथास्थितिमा रहँदासम्म एकता सम्भव नहुने उनीहरूको विश्लेषण छ। प्रचण्डले अहिलेसम्म पार्टीमा समीक्षाको कुरा उठाएका छैनन्।

नेताहरूका अनुसार नेतृत्वको कुरा उठ्ने सम्भावना देखेर पनि प्रचण्डले समीक्षा बैठक नबोलाएका हुन्। ‘उहाँले आफूले चुनाव जितेको कुरा भन्नुभएको छ। तर पार्टीले हारेको कारण खोल्नुभएको छैन,’ नेकपाका एक नेता भन्छन्, ‘उहाँले आफूले जित्नुको फाइदा लिँदै पार्टी हार्नुको कारण नेकपाका केन्द्रीय सदस्यलाई लगाउँदै हुनुहुन्छ।’ प्रचण्डले यसअघि नै आफू रास्वपाको अभिभावकका रूपमा चुनाव जितेको बताएका छन्। रूकुम पूर्वबाट निर्वाचित भएपछि उनले उक्त कुरा बताएका हुन्। ‘अब पनि नेतृत्व आफ्नो जितमा रमाएर पुस्तान्तरणमा हिँड्दैन भने पार्टी अघि बढ्नै सक्दैन’, नेकपा नेता धनराज वास्तविक भन्छन्।

नेता वास्तविक अगाडि भन्छन्, ‘रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण अनिवार्य विषय बनेको छ । तत्कालीन माओवादी र एकीकृत समाजवादीबीच एकता हुँदा ६ महिनाभित्र एकता महाधिवेशन गर्ने भन्ने थियो। तर, उक्त समय सकिन लाग्दा पनि एकता महाधिवेशनको कुनै चर्चा छैन। यो भनेको छिद्र खोजेर पार्टी सत्तामा बसिरहने खेल हो। प्रचण्ड माधव, झलनाथ, वामदेव जस्ता इतिहास बोकेका नेताहरूले वर्तमान नेपाली राजनीतिमा आफ्नो औचित्य र सान्दर्भिकता कति हो ? भन्ने कुराको ठोस् विश्लेषण गर्नुपर्ने हुन्छ।’

नेतृत्व नबोल्दासम्म छैन रूपान्तरण सम्भावना

अहिलेसम्म एमाले-नेकपाका केही नेताले मात्रै समीक्षाको कुरा उठाएका छन्। यसबाहेक जनमोर्चा, नेमकिपा त समीक्षाको विषय बनेकै छैन। नेकपा माओवादी चुनावको चिन्तामा पसेकै छैन। उनीहरू रास्वपाको लहरले चुनाव हारेको अभिव्यक्ति दिइरहेका छन्। जनमोर्चा र नेमकिपाका नेताहरू विदेशी शक्तिका कारण चुनाव हारेको आरोप लगाइरहेका छन्।

‘नेतृत्व पुरानो भएपछि परिवर्तन सम्भव देखिँदैन’, नेकपाका पूर्वनेता हरिबोल गजुरेल भन्छन्। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल एमाले-नेकपामा माथिल्लो पुस्ता तयार नभएसम्म एकता सम्भव नहुने बताउँछन्। ‘जुन बोल्नुपर्ने वा सुध्रनुपर्ने पुस्ता हो त्यो पुस्ता मौन छ। अब कसरी रूपान्तरण सम्भव छ?’ भुसाल प्रश्न गर्छन्, ‘माथिल्लो पुस्ताले नछाडेसम्म रूपान्तरण वा एकता सम्भव छैन।’ गजुरेल भने अब वाम आन्दोलन उठाउन २० देखि २५ वर्ष उमेरको नेतृत्व आवश्यक रहेको औँल्याउँछन्।

‘अहिलेको नेतृत्व पूरै भ्रष्ट छ। हामीले पनि त्यही पुस्तालाई समर्थन गर्‍यौँ। अब वामआन्दोलन उठाउन युवा आउनुपर्छ’, गजुरेल भन्छन्। अहिलेको निर्वाचन जेनजी विद्रोहबाट भएको छ। २० देखि ३० उमेर समूहका युवाले आन्दोलन उठाउदा सरकार ढल्यो र नयाँ नेतृत्व आयो। सडक आन्दोलनसँगै अब यो पुस्ता वाम आन्दोलन पनि उठाउनुपर्ने बताउँछन्। ‘अब वामआन्दोलन उठाउन माओवादी सशस्त्र युद्ध पनि नभिडेको पुस्ता नेतृत्वमा आउनुपर्छ,’ गजुरेल भन्छन्, ‘पुष्पलालले पनि नयाँ नेतृत्वबाटै वामपन्थी आन्दोलन थाल्नुभएको हो।’

घट्दो जनमत, नेतृत्व उही

२०१५ सालमा पहिलो पटक चुनावमा होमिँदा वामपन्थी मत चार सिट थियो। २०४८ को निर्वाचनमा यो सिट ८२ मा पुग्यो। मत प्रतिशत ४० पुग्दा २६ लाख बढी मत वामपन्थीले ल्याएका थिए। त्यसबेला एमालेले ८८ सिट जितेको थियो।

२०५२ को मध्यावधि निर्वाचनमा वामपन्थीले ९९ सिट जितेका थिए भने मत २६ लाख २३ हजार आएको थियो। २०५६ को निर्वाचनमा ७८ सिट जितेको वामपन्थी दललले ३५ लाख बढी मत ल्यायो।

२०६४ को पहिलो संविधानसभामा ३७२ सिट जितेका वामपन्थी दलको समानुपातिक मत ६२ लाख बढी थियो। तर ७० को दोस्रो संविधानसभा निर्वाचनमा वामपन्थीले २८९ सिट ल्याउँदा समानुपातिक मत ४४ लाखमा भर्‍यो। २०७४ को निर्वाचनमा १७६ सिट जितेका वामपन्थीले ४६ लाख बढी समानुपातिक मत ल्याएका थिए। निर्वाचन आयोगका अनुसार २०७९ को निर्वाचनमा १२३ सिट जितेका वामपन्थीहरूले समानुपातिकमा ४४ लाख ४१ हजार मत प्राप्त गरेका थिए।

फागुन २१ को निर्वाचनमा वामपन्थीहरूले ४२ सिट ल्याएका छन् भने समानुपातिक मत २३ लाखमा सीमित छ। आयोगका अनुसार यसपटकको वामपन्थीहरूको मत प्रतिशत २१.५० हो।

२०७१ पछि यी सबै दलको शीर्ष नेता एउटै छ। ओली २०७१ साल र प्रचण्ड ४३ साल (सेक्टर काण्डपछि) देखि नेतृत्वमा छन्। तत्कालीन माओवादीबाट फुटेका मोहन वैद्यसँग समेत विभाजित बनेका विप्लव २०७३ सालदेखि नेतृत्वमा छन्। अर्को वामपन्थी घटक नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे २०३१ देखि निरन्तर नेतृत्वमा छन्।

प्रकाशित: १२ चैत २०८२ ६:५२ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast