नेता त आएर गइहाल्छ, दुःखबिराम पो कहिल्यै नजाँदोरहेछ…

विवेक विवश रेग्मी १८ फागुन २०८२ १९:२३ | Monday, March 2, 2026
32
SHARES
नेता त आएर गइहाल्छ, दुःखबिराम पो कहिल्यै नजाँदोरहेछ… मोरङको बूढीगंगा गाउँपालिका-६ की सकुन्ती माझी।

इटहरी- गोधूलि साँझ, नजिकै बगिरहेको खोलाको छङछङ आवाजसँगै खेतको छेउमा बाख्रापाठा चराइरहेकी ५५ वर्षीया सुकन्ती माझी चुनावी माहोल टाढैबाट हेर्छिन्। मोरङको बूढीगंगा गाउँपालिका-६ निवासी उनी क्यान्सर रोगसँग जुधिरहेकी छन्। जिल्लाको क्षेत्र नम्बर ६ मा पर्ने उक्त गाउँमा चुनावका बेला नेताहरू गाउँ छिर्ने र मत माग्ने क्रम दोहोरिने भए पनि आफूजस्ता बिरामी र गरिबका समस्या कहिल्यै प्राथमिकतामा नपरेको उनको गुनासो छ। चुनाव संघारमा आइपुग्दा उनी आफ्नो पीडा बल्झिरहेको स्मरण गर्छिन्।

मोरङ क्षेत्र नं. ६ पर्ने उक्त क्षेत्रमा अहिले पनि मत माग्न नेताहरू आइरहेको उनले सुनाइन्।

‘नेता त सधैँ चुनावको बेला आउँछ र गइहाल्छ, दुखबिराम पो कहिल्यै नजानेरहेछ,’ फिस्स मुस्कुराउँदै उनले थपिन्, ‘मनको दर्द बुझिदिने को छ र?’

उनको मुस्कानमा थोरै डर, थोरै पश्चाताप र थोरै आशा देखिन्थ्यो। सकुन्तीका लागि चुनाव उत्सव होइन, अधूरा आश्वासनको सम्झना हो। उपचार खर्च धान्नै मुस्किल अवस्थामा रहेकी उनीजस्ता धेरै स्थानीयले आधारभूत स्वास्थ्य सेवा, आर्थिक सहयोग र सामाजिक सुरक्षा प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा निराशा व्यक्त गरिरहेका छन्।

दुई छोरामध्ये जेठो छोरा मलेसियामा रहेको र कान्छो छोरा स्वदेशमै मजदुरी गर्दै आएको बताउने सकुन्तीले आफ्नो दुःखमा नेताले केही नगर्ने गुनासो गरिन्। नेताहरू निर्वाचनमा आउने र गइहाल्ने तर आफ्नो दुःख, रोग भने साँझको घामजस्तै डुबिहाले पनि बिहान बल्झिरहने उनी सुनाउँछिन्।

‘चुनावपछि पनि कोही फर्किएर आउँछ कि आउँदैन?,’ उनी भन्छिन्, ‘कुनकुन पार्टीको नेताहरू आउँछ-आउँछ। केही थाहा हुँदैन।’

चुनावी भाषणभन्दा दैनिक जीवनको संघर्ष उनका लागि ठूलो यथार्थ बनेको छ।

‘हिजो र आज मान्छेहरू ठूलो संख्यामा बाटोमा बाइक, गाडीमा हिँडिरहेको थियो,’ सुकन्ती भन्छिन्, ‘कुन–कुन पार्टीको मान्छे हो चिन्दिनँ पनि म त।’

यस क्षेत्रमा जुनै पार्टीबाट जितेर गएका प्रतिनिधिहरू भए पनि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारजस्ता क्षेत्रमा काम गर्न आवश्यक रहेको उनले बताइन्। ‘२५ वर्षको उमेरमा बिहे भइहाल्यो। त्यसपछि जीवनले दर्द पनि पायो,’ उनी भन्छिन्, ‘अहिले ५५ वर्ष पूरा हुन नपाउँदै थप दुःख थपियो। घरमा दुखबिराम भइरहन्छ, छोराहरूले पनि पालो दिने बेला त भएको छ।’

सडकको धुलोका कारण आधा रोग लागेको उनलाई महसुस हुन्छ। खनार–नेता चोक सडकखण्ड निर्माणको काम अधुरो रहेको र धुलोका कारण स्वास्थ्य समस्या हुने गरेको उनी बताउँछिन्।

‘सडकको छेउमा त ट्रकको धुलोले गाह्रो बनाउँछ, आधा रोग त त्यही धुलोका कारण पनि लागेको हो कि जस्तो लाग्छ,’ उनले थपिन्, ‘सडकमा धुलो धेरै हुँदा बारीतिर पसिहाल्छु र केके काम गरेर दिन बिताऊँ।’
केहीबेरपछि श्रीमती नजिक आइपुगेका खड्गनारायण माझी आफ्नो दुःख बल्झिरहने बताउँछन्। ‘खुट्टामा पानी जमेको छ, घाउ निको नै हुँदैन,’ उनले घाउ देखाउँदै भने, ‘खुट्टा सुनिएको धेरै भइसक्यो। गाउँघरका केटाहरूले भने कहिलेकाहीँ उपचारमा सहयोग गर्छ।’

मेलाबजारमा कहिलेकाहीँ आलुचप, प्याजी र भक्का बेचेर घर खर्च गुजारिरहेका उनीहरू दुवैको दर्द एउटै छ। रोग लाग्दा सहज उपचार भए आफूहरूलाई घर गरिखान सहज हुने खड्गनारायण बताउँछन्।
‘नेताहरूले के गरिदिएजस्तो लाग्छ?’ भन्ने जिज्ञासामा उनले भने, ‘नेताहरूले के गर्छ र? आशा नै छैन। सहज रूपमा उपचार पाए हुन्थ्यो।’

छुट्टिने बेला दुवैले मुस्कुराउँदै आफ्नो घर देखाउँदै भने, ‘बेलाबेला आउँदै गर्नु है! नेताहरू पो चुनावमा मात्र आउँछ। ऊ त्यही हो घर, घरमै आउनुभए पनि हुन्छ।’

डा. शेखरलाई छैन सहज

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. ६ यसपटक त्रिकोणीय प्रतिस्पर्धा हुने देखिएको छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा भने एमालेका लालबाबु पण्डित निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा कांग्रेसबाट डा. कोइराला, एमालेबाट विनोदप्रसाद ढकाल, रास्वपाबाट रुविना आचार्य, नेकपाबाट ओपेन्द्रकुमार राय, राप्रपाबाट सविन निरौलासहित १७ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्।

डा. कोइरालाका लागि यो निर्वाचन सहज नदेखिएको विश्लेषण भइरहेको छ। क्षेत्रीय प्रभाव र पुरानो मताधार भए पनि पार्टीभित्रको आन्तरिक समीकरण र बाह्य चुनौतीले उनलाई निर्वाचित हुन सहज नदेखिएको मतदाताहरू बताउँछन्।

कांग्रेसभित्र विगतमा इतर पक्षको नेतृत्व गरेका कोइरालामाथि महाधिवेशनपछि उत्पन्न आन्तरिक असन्तुष्टिको असर पर्ने-नपर्ने पनि चासोको विषय बनेको छ। पार्टीभित्र पूर्ण एकता कायम रह्यो र परम्परागत मतदाताको मत वैकल्पिक शक्तितर्फ गएन भने कोइरालालाई लाभ पुग्ने देखिन्छ।

घरदैलोमा व्यस्त रहेका डा. कोइराला भन्छन्, ‘जनताको उत्साहजनक प्रतिक्रिया पाइरहेको छु। जनतामा स्थिरता, विकास र इमानदार नेतृत्वको नेतृत्वको। त्यो विश्वासलाई परिणाममा बदल्नु मेरो दायित्व हो। यतिबेला कांग्रेस चलायमान भएको छ।’

उनले क्रियाशील सदस्यदेखि लिएर शुभेच्छुक र पार्टीका विभिन्न जिम्मेवारीमा रहेकाहरू अहोरात्र खटिएको बताउँद सबैको सक्रियताले परिणाम कांग्रेसका पक्षमा आउने दाबी गरे। ‘मोरङ-६ मा मात्रै होइन देशैभरि कांग्रेसप्रति आममतदाताको आशा र विश्वास रहेको पाएको छ,’ डा. कोइरालाले भने, ‘२०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको, २०६२/६३ को दोस्रो जनआन्दोलनको नेतृत्व गरेको, संविधान निर्माणमा नेतृत्व गरेको, संविधान जारी भएपछि तीनै तहको सफलतापूर्वक निर्वाचन गराएको, संघीयता र लोकतन्त्र संस्थागत गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसप्रति मतदाताहरूको आकर्षण बढ्दै गएको छ। कांग्रेसले मात्रै देशलाई निकास दिन सक्छ भन्ने कुरा आममतदाताले बुझिसक्नुभएको छ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी आचार्यले नजिते पनि परम्परागत दलको मतमा ‘कटिङ इफेक्ट’ पार्न सक्ने आँकलन छ। वैकल्पिक शक्तिका रूपमा उभिएको रास्वपाको उपस्थितिले असन्तुष्ट र युवा मतदातालाई आकर्षित गर्न सक्ने देखिन्छ। जसले कांग्रेस र एमाले दुवैलाई असहज बनाउन सक्छ।

नेकपा एमालेसँग आबद्ध ढकाल यस क्षेत्रमा परिचित अनुहार मानिन्छन्। नलाई आफ्नै पार्टीभित्रबाट अन्तर्घातको जोखिम नरहेमा मात्र बलियो प्रतिस्पर्धी बन्न सक्ने जानकारहरूको विश्लेषण छ। एमालेभित्रको गुटीय समीकरणले नतिजामा निर्णायक प्रभाव पार्न सक्ने आँकलन गरिएको छ। उनी पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिँदै आएका छन्।

मोरङ–६ मा मत विभाजन, आन्तरिक समीकरण र वैकल्पिक शक्तिको प्रभावले अन्तिम परिणाम कता मोडिन्छ भन्ने थप चासोको विषय बनेको छ।

प्रकाशित: १८ फागुन २०८२ १९:२३ | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast