सूर्यदर्शन सहकारीबाट पीडित भनिएका कृष्ण जैसी सहकारी ठगीकै आरोपमा पक्राउ

हिमाल प्रेस ९ चैत २०८२ २१:०७ | Monday, March 23, 2026
14
SHARES
सूर्यदर्शन सहकारीबाट पीडित भनिएका कृष्ण जैसी सहकारी ठगीकै आरोपमा पक्राउ

पोखरा- सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तीन वर्षअघि जीबी राईसमेत विरुद्ध जाहेरी लिएर सुरुमा जाने एक जना बचतकर्ता नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा-७, मासबार निवासी कृष्णप्रसाद जैसी हुन्। उनी तिनै व्यक्ति हुन्, हालै कास्की ३ बाट रास्वपा उम्मेदवार बिना गुरुङलाई एक सार्वजनिक कार्यक्रममा आफूले बच्चाको स्कुल फी तिर्न नसकेको भनी रास्वपा सभापति रवि लामिछानेसमक्ष पुर्‍याइदिन बिल थमाएका थिए। जुन घटना भाइरल बनेको थियो। गुरूङ अहिले सांसदमा निर्वाचित भइसकेकी छन्।

कास्की प्रहरीले पोखरास्थित धनुष बचत तथा ऋण सहकारी संस्थाको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सोमबार जैसीसमेत केही व्यक्तिहरूलाई पक्राउ गरेको हो।

धनुष सहकारीको रकम हिनामिना भएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले वित्तीय विश्लेषक निर्मल गौतम संयोजकत्वमा छानबिन थालेको थियो। जसमा १० भन्दा बढीलाई प्रतिवादी बनाई कास्की प्रहरीमा आइतबार दोस्रो चरणको प्रतिवेदन बुझाइएको थियो। सोही प्रतिवेदन आधारमा प्रहरीले अनुसन्धानका लागि जैसीसमेतलाई पक्राउ गरेको हो। ऋण समितिमा रहेका जैसीले ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ।

सहकारी रजिस्ट्रार भेषराज रिजालले भने, ‘धनुषको बारेमा धेरै रकम त मिलेको हो। ९-१० करोड मिलेको हो, बाँकी रकम मिलाउन कोसिस पनि भएको हो। तर केही जिम्मेवार व्यक्तिहरूले नै तिर्न अटेर गरेपछि प्रहरीलाई जिम्मा लगायौँ।’

विगतमा साविक साइनो र धनुष मर्ज भएर धनुष बचत तथा ऋण सहकारी संस्था बनेको हो। कास्कीको पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका कार्यक्षेत्र रहेको उक्त सहकारी लामो समयदेखि संकटमा पर्दै आएको थियो। रिजालका अनुसार धनुषको तुलनामा विगतमा साइनोका जिम्मेवारी व्यक्तिहरुलाई बढी दोषी भेटिएका छन्।

छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ। साविक साइनो सहकारीसँग एकीकरण पूर्व नै इन्जिनियर असिम बराल (एबीएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक), गमरेजजंग गुरुङ परिवार (श्रीमती काशीमाया गुरुङ र छोरी सिर्जना गुरुङ, हाल अमेरिकामा) ले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।

सहकारी व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख, व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा औँल्याइएको छ।

इन्जिनियर असिम बराल र सिर्जना गुरुङले कर्मचारीहरूको नागरिकता दुरुपयोग गरी कीर्ते दस्ताबेज तयार पारेको, सहकारी दर्ता तथा बैंक खातामा तिनै कीर्ते व्यक्तिको नाम प्रयोग गरी रकम निकासी गरेको छानबिनमा खुलेको छ।

असार २०७९ मा सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको भन्दै जीबी राई समेतलाई प्रतिवादी बनाई जैसीसहित करिब २४ जनाले सुरुमा कास्की प्रहरीमा जाहेरी दरखास्त दिएका थिए। पछि प्रहरी कार्यालय आफैँले उजुरी दिन भनी बचतकर्तालाई सार्वजनिकरूपमै सूचना जारी गरेपछि थप बचतकर्ता जोडिएका हुन्।

सूर्यदर्शनका १ हजार ५७ जना बचतकर्ताले जाहेरी दिएका हुन्। पहिलो चरणमा जीबीसमेत १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा पूरक प्रतिवेदन आधारमा दोस्रो चरणमा रविसहित ५१ जनालाई प्रतिवादी बनाइएको थियो।

विगतमा जैसी आफैँ संघर्ष समितिका संयोजक रही बचतकर्तालाई आन्दोलनमा उतारेका थिए। हाल संघर्ष समिति किरण श्रेष्ठ संयोजक छन्।

सूर्यदर्शन सहकारीको १ अर्ब ५१ करोड हिनामिना भएको भन्दै सोही रकम बराबरको बिगो माग दाबीसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ।

प्रकाशित: ९ चैत २०८२ २१:०७ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast