पोखरा- जिल्ला प्रहरी कार्यालय, कास्कीमा फागुन महिनामा १ सय ८३ मुद्दा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय र मातहत समेतबाट फागुन महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधि सार्वजनिक गरिएको हो।
जसअनुसार, दर्ता भएका कुल १ सय ८३ मुद्दामा जघन्य तथा गम्भीर अपराधका ६४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १० वटा, आर्थिक अपराधसम्बन्धी ३३ वटा र अन्य अपराधका ७६ वटा छन्। चालु मुद्दाका १ सय ३८ जना प्रतिवादी पक्राउ परेका छन्।
यसै गरी, विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फैसला कार्यान्वयनमा फरार प्रतिवादीमध्ये २६ जना पक्राउ परे। तीमध्ये ९ जना महिला र १७ पुरुष हुन्। उनीहरुलाई कुल १२ वर्ष ११ महिना कैद तथा जरिबाना ठेकिएको थियो। उनीहरूबाट बिगो रकम १ अर्ब २५ करोड असुल गरिएको छ।
लागु औषध नियन्त्रणतर्फ प्रहरीले ३ महिला र ११ पुरुष गरी १४ जनालाई पक्राउ गरेको छ। जेनजी आन्दोलनमा कारागार कार्यालय, कास्कीबाट फरारमध्ये फागुनमा थप ३ जना पक्राउ परे।
प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार कास्कीमा फागुनमा सवारी दुर्घटनाका १७ घटनामा ६ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनामा २० जना घाइते भए।
साथै, ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। उक्त कारबाहीमा प्रहरीले ३४ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।
फागुनमा १२ जनाले आत्महत्या गरे। यसै गरी आगलागीका ९ घटना भए। आगलागीबाट करिब २४ लाख ८५ हजार बराबरको क्षति हुन गएको छ।





