काठमाडौँ- नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघको आयोजनामा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत ५ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ।
राष्ट्रिय जुडो संघले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यही चैत ५ देखि ९ गतेसम्म काठमाडौँको नयाँ बजारस्थित बहुउद्देश्य मार्शल आर्ट्स केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिएको जनाएको हो।
प्रतियोगितामा नेपालका प्रदेश, जिल्ला/क्लब, स्कुल तथा डोजोका खेलाडीहरूका साथै बंगलादेश र भुटानका खेलाडीहरूको समेत गरी ३०० जनाको सहभागिता रहने राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी दिए।
पुरुष र महिलातर्फ विभिन्न तौलसमूह र स्पर्धामा हुने प्रतियोगिताका बिजयी खेलाडीहरूलाई स्वर्ण, रजत, कांस्य पदक तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए।
साथै क्याडेट र जुनियर दुवै समूहमा टिम प्रथमलाई १५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई ५ हजार र उत्कृष्ट महिला दुई, पुरुष दुई जनालाई पाँच हजारका दरले नगद पुरस्कार प्रदान गरिने श्रेष्ठले जानकारी दिए।
अध्यक्ष श्रेष्ठका अनुसार सहभागी खेलाडी र अफिसियलको पाँच लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। उनीहरूको खाना, बसोबास र यातायातको व्यवस्था पनि आयोजकले गर्ने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ३१ लाख रुपैयाँ खर्च हुने बताइएको छ।




