काठमाडौँ– जापान सरकारले त्रिभुवन विश्वविद्यालयमा जापानी भाषा शिक्षा डिजिटलाइजेसनका लागि अनुदान सम्झौता गरेको छ। जापान–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा यो सम्झौता भएको हो।
सम्झौतामा नेपालका लागि जापानी राजदूत टोरु माएदा र लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दलीले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.दीपक अर्यालसमेत उपस्थित थिए।
यो परियोजना जापान सरकारको ‘कल्चरल ग्रासरुट प्रोजेक्ट्स’ अन्तर्गत सञ्चालित रहेको दूतावासले जनाएको छ। दूतावासले जनाएअनुसार कुल ६४ हजार ८८५ अमेरिकी डलर (करिब ९३ लाख नेपाली रुपैयाँ) अनुदान रकममा सञ्चालन हुने यो परियोजनाको व्यवस्थापन लभ ग्रीन नेपालले गर्नेछ।
परियोजनाको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय भाषा क्याम्पस, त्रिभुवन विश्वविद्यालयमा जापानी भाषा कक्षाहरूलाई आधुनिक बनाउनु रहेको दूतावासको भनाइ छ। यसअन्तर्गत पुराना उपकरणहरूलाई हटाएर अत्याधुनिक इलेक्टोनिक स्मार्ट बोर्ड जडान गरिनेछ। साथै कक्षाकोठाहरूको पूर्ण मर्मत र नयाँ इर्गोनोमिक फर्निचर जडान गरिनेछ।
यस परियोजनाले नेपालका भावी नेतृत्वहरूलाई जापानी भाषा र संस्कृति सिक्नका लागि विश्वस्तरीय वातावरण उपलब्ध गराउने दूतावासले विश्वास लिएको छ।
दूतवासले यो सांस्कृतिक तथा शैक्षिक सहयोगले दुई देशबीचको लामो समयदेखिको मित्रता र आपसी समझदारीलाई थप गहिरो बनाउने आशा लिएको छ।




