प्रतिनिधिसभा निर्वाचन

सुनसरी-१ मा हर्कलाई छैन सहज

विवेक विवश रेग्मी १८ फागुन २०८२ ११:१५ | Monday, March 2, 2026
6
SHARES
सुनसरी-१ मा हर्कलाई छैन सहज

इटहरी-  आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) सहित २६ जना प्रतिस्पर्धामा छन्। स्वतन्त्रबाट धरानको नगर प्रमुख भएका हर्क आफ्नो कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्। अन्य दललाई आलोचना गर्दा हर्कको ‘आफ्नै बोली गलपासो’ जस्तै हुँदा जनमत केही घट्न सक्ने जानकारहरूको विश्लेषण छ।

पुराना दलहरूमध्ये नेकपा एमालेको सबैभन्दा बलियो संगठन रहेको यस क्षेत्रमा यसपटक एमाले आफैँ रक्षात्मकजस्तै छ। सुनसरीका चार निर्वाचन क्षेत्रमध्ये सुनसरी १ एमालेको सबैभन्दा बलियो संगठन भएको क्षेत्र मानिन्छ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको समर्थनमा तत्कालीन जसपा नेपालका संघीय परिषद् अध्यक्ष रहेका अशोक राई निर्वाचित भएका थिए। जुन बेला एमालेबाट विद्रोह गर्दै मनोजकुमार मेन्याङ्बोले उम्मेदवारी दिई पाँच हजारभन्दा बढी मत ल्याएका थिए। एमालेभित्रैको विद्रोहबीच पनि जित निकालेको एमालेका लागि यसपटक सहज छैन। यस क्षेत्रमा हर्क आफैँ उम्मेदवार रहनु र उनीप्रति श्रमदाताको एक आकर्षण बन्नुले एमालेलाई सहज नदेखिएको हो।

अघिल्लोपटकको निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) पनि मैदानमा छन्। देशभर रास्वपाको जनलहर बढ्नु र सुनसरी १ मा पनि बालेन्द्र शाहको प्रभाव बढ्दा सरिनप्रतिको अर्को आकर्षण देखिन्छ।

यसैगरी धरानका स्थानीय व्यापारी र हर्क र सरिनको वैकल्पिक उम्मेदवारका रूपमा भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट बलियो प्रतिस्पर्धी छन्, सूर्यबहादुर भट्टराई (मनोज)। श्रम संस्कृति पार्टी र रास्वपाको विकल्पमा उनी बलियो प्रतिस्पर्धी मानिन्छन्।

राजनीतिक विश्लेषकसमेत रहेका प्रा.डा. राजेन्द्र शर्मा भन्छन्, ‘स्थानीय तहदेखि केन्द्रसम्म प्रभाव राख्दै आएका पुराना दलहरूको चुनावी अभियान अपेक्षाकृत् सुस्त देखिको छ। अर्कोतर्फ नयाँ राजनीतिक शक्तिहरूको सक्रियता भने बढ्दो छ।’

यहाँ एमाले र कांग्रेस रक्षात्मक देखिदाँ हर्क, सरिन र मनोजको चुनावी प्रचार आक्रामक देखिएको उनले बताए। ‘हर्क साम्पाङले आफ्नो कमीकमजोरी सच्याउने र अरूलाई गाली नगर्ने हो भने उनको पक्षमा पनि नतिजा पर्न सकिन्छ, तर उनले अरूलाई गाली गर्ने अभियान बिसाउनैपर्छ,’ शर्मा भन्छन्, ‘अहिले चर्चा भइरहेमध्ये रास्वपा पनि अग्रपंक्तिमा देखिन्छ। विशेषगरी नेकपामा मनोज भट्टराई पनि अब्बल प्रतिस्पर्धीका रूपमा केन्द्रमा छन्।’

पहिलेपहिले यस ठाउँमा एमालेले चुनाव जित्दै गर्दा सहरको केन्द्रमा नेपाली कांग्रेसको चर्चा हुने भए पनि अहिले भने नेकपामा मनोजको चर्चा चुलिएको उनले बताए। ‘व्यापारी समुदायमा मनोजको दबदबा देखिन्छ। त्यसो भएकाले हुँदा श्रम संस्कृति पार्टी, रास्वपा र नेकपा मुख्य प्रतिस्पर्धी देखिन्छन्,’ शर्माले भने, ‘चुनाव नतिजा कसको पक्षमा जान्छ यसै भन्न नसकिए पनि तीन दलमध्ये एकले जित्छन् कि भन्ने अहिलेसम्मको आकलन छ।’

एमालेले आफ्नै जनमत जोगाउँदा प्रतिस्पर्धी हुने भए पनि एमालेका लागि सधैँजस्तो सहज अवस्था नरहेको उनको टिप्पणी छ। अहिलेको चुनावी प्रचारप्रसार र जनमत बुझ्दा एमालेभन्दा रास्वपा र नेकपा अगाडि रहेको छ।

‘अघिल्ला निर्वाचनमा एउटा परिवारको सिंगै भोट एकै दललाई जाने भएपनि यसपटकको अवस्था त्यस्तो छैन, एकै परिवारबाट भिन्नाभिन्नै दललाई भोट जाने देखिन्छ,’ डा. शर्माले भने, ‘विदेशबाट आएकाहरूले माटो र घण्टीको प्रचारमा छन्। जसले पुराना दललाई असर पार्ने देखिन्छ। पहिलेपहिले सुकुम्बासी, मजदुर र किसानलाई भोट बैँक बनाएपनि यसपटक भने कहीँ पनि भोट बैँक छैन।’

रास्वपाको पक्षमा मत निर्माण हुँदै गर्दा हर्कलाई असहज हुने उनको विश्लेषण छ। उनले भने, ‘इतिहासमा परम्परावादी मतदाता भन्दा विदेशमा हुने र नेपाल फर्किएपछि घण्टी र माटो छानिरहेको अवस्था छ।’

यहाँ पुराना राजनीतिक दलहरूले आफूले चुनाव नजित्ने अवस्था आएमा नयाँ रणनीति अपनाउनेसमेत आकलन गर्न सकिन्छ। अन्तिम समयमा आफूले नजित्ने अवस्था आएमा रास्वपालाई जित्न नदिन माटोलाई सघाउनेसमेत आकलन गरिन्छ।

रास्वपा र श्रम संस्कृति दुवैको विकल्पमा भने तारालाई मत दिनसक्ने धेरैको आकलन छ। ‘रास्वपाले जित्ने स्थिति आयो भने श्रम संस्कृतिलाई दिने वा रास्वपा र श्रम संस्कृतिले जित्ने अवस्था आयो भने दुवैको विकल्पमा नेकपालाई मत दिने भन्ने हुनसक्छ,’ धरानका एक मतदाता भन्छन्, ‘रास्वपा र श्रम संस्कृतिको विकल्प नेकपा हुँदै गर्दा पुराना दलहरूले आफूले चुनाव नजिते पनि कसलाई हराउने भन्ने निर्णायक हुन सक्छन्।’

एमाले र कांग्रेस रक्षात्मक अवस्थामा पुग्दा ती दलहरूले यदि आफैँ निर्वाचन नजित्ने अवस्था आएमा कसलाई हराउने भन्ने निर्णायक बन्न सक्ने आकलन गर्न सकिन्छ। ‘दलहरूले आफ्नो पक्षमा पारिसकेको मत अन्तिम अवस्थामसम्म जोगाउन नै कठिन हुने देखिन्छ,’ उनले भने।

अघिल्लो निर्वाचनमा पुराना दलहरूको विकल्पमा रास्वपा मात्रै रहेको थियो भने यसपटक भने श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीलगायतका दलहरूको उदयले रास्वपालाई नै पनि क्षति हुनसक्छ।

०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिँदै नगर प्रमुखमा विजयी बनेका हर्क उम्मेदवारी बनेसँगै यस क्षेत्रलाई चासोका साथ हेरिएको छ। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका सभापति हर्कराज राई, एमालेबाट टीकाराम लिम्बू, कांग्रेसबाट सुजेन्द्र तामाङ, नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज), राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमाङ तामाङ (सरिन), राप्रपाबाट उद्धव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट डम्बर लावतीलगायत २६ जना प्रतिस्पर्धामा छन्।

०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेको समर्थन पाएको जनता समाजवादी पार्टीका नेता अशोक राई विजयी भएका थिए। उनले १७ हजार पाँच मत प्राप्त गर्दा रास्वपाकी गोमाङले १६ हजार ६०६ मत प्राएकी थिइन्।

समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै २० हजार ९८ प्राप्त गरेको थियो। रास्वपाले १७ हजार २७१, कांग्रेसले ११ हजार ७५० र नेकपा (तत्कालीन माओवादी)ले ४ हजार ६५६ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता छन्। निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष ७२ हजार १८०, महिला ७८ हजार २१२ तथा यौनिक तथा लैंगिक अल्पसंख्यक एकजना मतदाता छन्।

४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको यस क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा समेटिएको छ। यहाँ कुल एक लाख ५० हजार ३९३ मतदाता छन्।

धरानमा खानेपानी संकट उस्तै, चुनावी एजेन्डा बन्यो, समाधान छैन

धरानमा वर्षौँदेखि देखिएको खानेपानी समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन। बढ्दो जनसंख्या, स्रोत व्यवस्थापनको अभाव र दीर्घकालीन योजनाको कमीका कारण यहाँका बासिन्दा अझै पनि खानेपानी अभाव झेल्न बाध्य छन्।

खानेपानीको मुद्दा हरेक चुनावमा मुख्य एजेन्डा बन्दै आएको छ। राजनीतिक दलहरूले समाधानको प्रतिबद्धता दोहोर्‍याए पनि व्यवहारमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हर्क साम्पाङले पनि खानेपानी समस्या समाधानलाई प्रमुख एजेन्डा बनाएका थिए। उनले मुहान संरक्षण, सप्तकोसीको पानी धरान ल्याउने, पाइपलाइन विस्तार तथा वैकल्पिक स्रोत खोजीजस्ता पहलहरू अघि बढाएका थिए। श्रमदान अभियानमार्फत केही क्षेत्रसम्म पानी वितरण सुधार भएपनि पूर्ण समस्या भएको छैन।

दीर्घकालीन जलस्रोत व्यवस्थापन, भण्डारण क्षमता वृद्धि तथा प्रदेश र संघीय सरकारसँगको समन्वय अभावले समस्या जटिल बनेको विश्लेषकहरूको भनाइ छ। धरानलाई अहिले दैनिक दुई करोड लिटर पानीको आवश्यकता हुने गरेको छ। जसमा कोकाहाबाट भने साढे तीन लाख लिटरमात्रै पानी आउने गरेको जानकारहरू बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast