इजरायल-इरान द्वन्द्व क्षेत्रीय युद्धतर्फ उन्मुख, ट्रम्पको चेतावनी- प्रतिरोध गरे मृत्यु निश्चित

हिमाल प्रेस १८ फागुन २०८२ १३:२० | Monday, March 2, 2026
26
SHARES
इजरायल-इरान द्वन्द्व क्षेत्रीय युद्धतर्फ उन्मुख, ट्रम्पको चेतावनी- प्रतिरोध गरे मृत्यु निश्चित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आइतबारमा फ्लोरिडाको वेस्ट पाम बिचस्थित पाम बिच अन्तर्राष्ट्रिय विमानस्थलमा एयर फोर्स वन विमानमा चढ्दै। तस्बिर : म्याट राउर्के/एपी

लेबनान- इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल, इरान र उसका सहयोगी समूहहरूबीचको द्वन्द्व पश्चिम एसियाभरि फैलिएको छ।

अमेरिकी समर्थनमा इरानमाथि भएको ठूलो आक्रमण र इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको हत्यापछि सुरु भएको तनावले क्षेत्रीय युद्धको रूप लिने संकेत देखिएको छ।

तेहरान समर्थित शिया आन्दोलन हिजबुल्लाहले खामेनीको हत्याको बदलामा इजरायलतर्फ रकेट तथा ड्रोन प्रहार गरेको दाबी गरेपछि इजरायली सेनाले बेरुतसहित दक्षिणी लेबनानमा तीव्र आक्रमण गरेको जनाएको छ। सिडोन क्षेत्रमा सर्वसाधारण घर छाडेर भागेका छन् भने राजधानी बेरुतमा बिहानै विस्फोटका आवाज सुनिएको थियो।

यसैबीच अमेरिकी सेनाले इरानभित्रका रणनीतिक लक्ष्यहरूमा कारबाही विस्तार गरेको छ। वासिङ्टनले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को मुख्यालय ध्वस्त पारेको जनाएको छ।

इरानले त्यसको जवाफमा इजरायल, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र अन्य खाडी मुलुकतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेको छ। तेल अभिव नजिक र बेत सेमेश क्षेत्रमा भएको आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्। जेरुसेलममा पनि घाइते भएका छन्।

दोहा, दुबई र मानामामा समेत विस्फोटका खबर आएका छन्। खाडी क्षेत्रमा भएका जवाफी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ। इरानभित्र रेड क्रिसेन्टका अनुसार पछिल्ला आक्रमणमा २०१ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। इरानी न्यायपालिकाले खामेनीका सल्लाहकार अली शामखानी र रिभोलुसनरी गार्ड्सका प्रमुख जनरल मोहम्मद पाकपुर मारिएको पुष्टि गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अमेरिकी सैनिकको मृत्युको बदला लिने बताउँदै कारबाही अझ कडा हुने चेतावनी दिएका छन्। पेन्टागनका अनुसार ‘एपिक फ्युरी’ नामक अपरेसनमा तीन अमेरिकी सैनिक मारिएका छन्। ट्रम्पले इरानी सुरक्षा बललाई हतियार त्याग्न आह्वान गर्दै प्रतिरोध गरे ‘निश्चित मृत्यु’ हुने चेतावनी दिएका छन्।

यसबीच लेबनानका प्रधानमन्त्री नवाफ सलामले हिजबुल्लाहको रकेट प्रहारलाई गैरजिम्मेवारपूर्ण कदम बताउँदै यसले देशलाई थप जोखिममा पारेको प्रतिक्रिया दिएका छन्। पाकिस्तानको कराचीमा अमेरिकी वाणिज्य दूतावासमा आक्रमण प्रयास भएको छ भने १७ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

इजरायल र अमेरिकाले इरानका नागरिकलाई शासनविरुद्ध उठ्न आह्वान गरेका छन्। शाहका छोरा रेजा पहलवीले पनि सही समय कुर्न आग्रह गरेका छन्। खामेनीको मृत्युलाई लिएर इरानभित्र मिश्रित प्रतिक्रिया देखिएको छ- कतै उत्सव, कतै अमेरिका विरोधी प्रदर्शन।

तेहरानको आणविक कार्यक्रमबारे वार्ता चलेको दुई दिनमै भएको यो सैन्य टकरावले होर्मुज जलडमरूमध्यमा असर पारेको छ। इरानले जलमार्ग बन्द गर्ने चेतावनी दिएपछि जहाजमाथि आक्रमण भएका छन् र विश्व तेल बजारमा मूल्य वृद्धि भएको छ। अमेरिकी दाबी अनुसार नौ इरानी नौसैनिक जहाज डुबाइएका छन् यद्यपि इरानले अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकनलाई निशाना बनाएको दाबी गरेको छ, जसलाई पेन्टागनले अस्वीकार गरेको छ।

यसरी इजरायल-इरान तनाव सीमित टकरावबाट क्षेत्रीय संघर्षतर्फ उन्मुख भएको देखिएको छ जसले मध्यपूर्वको सुरक्षा सन्तुलन र विश्व अर्थतन्त्र दुवैलाई गम्भीर असर पार्ने संकेत दिएको छ। रासस/एएफपी

प्रकाशित: १८ फागुन २०८२ १३:२० | Monday, March 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast