तस्बिरः गल्फ न्युजबाट।
काठमाडौँ- इरानी आक्रमणमा परी यूएईमा एक नेपालीको मृत्यु भएको छ। गल्फ न्युजका अनुसार घटनामा मृत्यु भएका तीन जना मध्ये एक जना नेपाली रहेका हुन्।
अन्य दुई जना पाकिस्तानी र बंगलादेशी नागरिक रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। मृत्यु हुनेहरूको परिचय भने खुलाइएको छैन।
हालसम्म विभिन्न देशमा ५८ जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन्।
मन्त्रालयका अनुसार हालसम्म इरानले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र, दुई क्रुज क्षेप्यास्त्र र ५४१ ड्रोन प्रहार गरेको छ। ती मध्ये १५२ ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको, १३ वटा समुद्रमा खसेको र दुई क्रुज क्षेप्यास्त्र पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ।
साथै इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले नागरिक, पर्यटकलगायतको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।





