फाइल तस्बिर : एफपी
काठमाडौँ- पश्चिम एसिया युद्ध सुरू भएयता इरानले इजरायलमाथि चारबढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
युद्ध सुरू भएयता इरानले चार सयबढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जसमध्ये ९२ प्रतिशतलाई आकाशमै नष्ट पारिएको इजरायली सेनाले जनाएको हो। दक्षिण इजरायलका दुई सहरमा इरानी क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा १७५ जना घाइते भएको भोलिपल्ट यो तथ्यांक सार्वजनिक गरिएको हो।
‘इरानले चार सयभन्दा बढी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ। हामीसँग पर्याप्त मात्रमा अवरोधकहरू छन्,’ इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नदाभ शोशानीले आइतबार पत्रकारहरूसँग भने,‘हामीले लगभग ९२ प्रतिशतभन्दा बढी क्षेप्यास्त्रलाई आकाशमा नै निस्क्रिय पारेका छौँ।’
शनिबार आक्रमण भएका सहरहरूमध्ये एक डिनोमा रहेको छ। यो इजरायलको अघोषित परमाणु शस्त्रागर भएको विश्वास गरिन्छ। क्षेप्यास्त्रको प्रभाव सहरको आणविक केन्द्रबाट पाँच किलोमिटर दूरीमा रहेको थियो। नजिकैको अर्को सहर अरादका धेरै भवनहरूमा ठूलो क्षति पुगेको छ।
शनिबार प्रहार गरिएका क्षेप्यास्त्र ब्यालेस्टिभन्दा फरक नभएको र युद्धका क्रममा अहिलेसम्म यस्ता चारवटा मात्र प्रहार भएको शोशानीले बताए। इजरायली सेनाले शनिबार आक्रमण रोक्न नसकेको घटनाबारे अनुसन्धान हुने उनको भनाइ छ।
प्रधानमन्त्री बिन्यामिन नेतान्यहूले शनिबार ‘निकै कठिन रात’ भएको स्वीकार गर्दै साइरन बज्दा नागरिकलाई सुरक्षा केन्द्रमा जान आग्रह गरेका छन्।
आइतबार उनले अरादको भ्रमण गरेका छन्। अरादबाट उनले इरानका शीर्ष अधिकारीहरूको खोजी जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
‘हामी इरानको रिभोलुसनरी गार्ड्स, यो आपराधिक गिरोहलाई कारबाही गरिरहेका छौँ,’ उनले भने,‘हामी व्यक्तिगत रुपमा उनीहरूको पछि लागेका छौँ, उनीहरूका नेता, उनीहरूका प्रतिष्ठान, सम्पत्ति खोजिरहेका छौँ।’




